• २०८१ बैशाख १७ सोमबार

नेपाल र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना

kharibot

काठमाडौँ । नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या एक सय ८० पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत-स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि क्यामरुन गणतन्त्रका राजदूत-स्थायी प्रतिनिधि मिशेल टोमो मोन्थेले बिहीबार संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्यूयोर्कमा समारोहमा सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाका बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी गराउने संयुक्त पत्रमा दुवै राजदूतले हस्ताक्षर गरेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

सो अवसरमा दुवै राजदूतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चमा दुई देशको पारस्परिक हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचारविमर्श गरेका थिए  । पश्चिम अफ्रिकामा अवस्थित क्यामरुनमा दुई सय ४० भन्दाबढी जनजाति छन् भने दुई सय ३० भाषा बोलिन्छन् ।

चाड, मध्य अफ्रिकी गणतन्त्र, कङ्गो गणतन्त्र, ग्याबोन, इक्वेटोरियल गिनी र नाइजेरियासँग सिमाना जोडिएको यो मुलुकको दक्षिणपश्चिममा एट्लान्टिक महासागरको सिमाना रहेको छ ।

यो दुई करोड ७० लाख भन्दा बढी जनसंख्या भएको क्यामरुनको कूल क्षेत्रफल चार लाख ७५ हजार चार सय ४० वर्ग किलोमिटर छ । सन् १९६० जनवरी १ मा स्वतन्त्र भएको यो मुलुक २० सेप्टेम्बर १९६० मा संयुक्त राष्ट्रसङ्घमा सामेल भएको हो । नेपाल र क्यामरुन दुवै असंलग्न आन्दोलन (नाम) तथा ७७ र चीन समूहको सदस्य राष्ट्र हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय