• २०८१ बैशाख १७ सोमबार

जलहरीको तौल लिन अख्तियारको टोली पशुपतिमा

kharibot

काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरीमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई तिब्रता दिएको छ ।

आइतबार अपराहन्न अख्तियारको टोलीले पशुपतिमा राखिएको जलहरीको तौल लिने तयारी गरेको बुझिएको छ ।

स्रोतका अनुसार अख्तियारले विवादमा आएको जलहरिको आजै तौल लिने छ ।

अख्तियारको टोली पशुपति पुगेपछि पशुपतिमा सबैलाई बाहिर निकालेर ढोका बन्द गराइएको छ भने अहिले पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

पशुपतिनाथको मन्दिरमा राखिएको १०३ किलो सुनको जलहरीमा भ्रष्टाचार भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । केहि साता अघि यो विषय संसद्मा पनि उठेको थियो ।

महालेखाले पनि उठाएको थियो प्रश्न

यो विषयमा महालेखा परीक्षकको प्रतिवेदनमा समेत प्रश्न उठाइएको थियो । महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ मा ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू. ८० करोड ११  हजारमा खरिद गरेको र विभिन्न  शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक  १२.७५ ग्रामसमेत प्रयोग गरी  १०७ किलो  ९२४.७५ ग्राम सुन कायम भएको’ उल्लेख छ ।

निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो  ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ ।

महालेखाले भनेको छ- रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू. ७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै