• २०८१ बैशाख १७ सोमबार

पशुपतिको जलहरीको सुन जोखियो

kharibot

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरीको सुन निकालेर तौल लिएको छ ।

जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको छ । जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको स्रोतले जानकारी दिएको छ ।

उनकाअनुसार राति सवा एक बजेसम्म सुनको तौल लिइएको थियो ।

जलहरीलाई पुन: मर्मत गरी मंगलबार ज्योतिर्लिङ्गमा ज्योराख्ने निर्णय भएको र  जलहरी नापजाँचको प्रतिवेदन अख्तियारले आज लिएर गएको बुझिएको छ ।

अख्तियारको टोलीका साथै खानी तथा भूगर्भ, पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुनचाँदी व्यवसायी महासंघ र सुरक्षा निकायका प्रतिनिधिहरुसम्मिलित टोलीले जलहरीको सुनको तौल लिएको हो ।

जलहरी निकाल्नुअघि मन्दिरमा आरती गरिएको थियो । परीक्षणका बेला सेना र प्रहरीले पहरा दिएका थिए । जलहरीको तौल तथा गुणस्तर परीक्षण भएको र विवरण आएपछि थपकुरा जानकारी हुने अख्तियारले जनाएको छ । पशुपतिनाथ मन्दिरमा हिजो दिउँसो दर्शनार्थीको प्रवेशमा रोक लगाएर जलहरी निकालिएको थियो ।

दुई वर्षअघि पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको थियो । भ्रष्टाचारको आशंकामा डेढ वर्षदेखि अनुसन्धान गरिरहेको अख्तियारको टोली सोमबार दिउँसो पशुपतिनाथको मन्दिरमै पुगेको थियो । जलहरीका लागि खरिद गरिएको ११ किलो सुन गायब पारिएको विषयलाई अख्तियारले केन्द्रमा राखेको छ ।

२०७७ साल माघ १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा संकल्प पूजा गरेर एक अर्बको जलहरी राख्ने घोषणापछि १ सय ८ किलोको जलहरी राखिएको थियो । त्यसमा सरकारले ३० करोड रुपैयाँ दिने निर्णय गरेको थियो भने पशुपति क्षेत्र विकास कोषले ५० करोड रुपैयाँ थपेर सुनको जलहरी राख्ने निर्णय भएको थियो । यो निर्णयसँगै २०७७ फागुन ११ गते जलहरी राखिएको थियो ।

जलहरी राख्न तत्कालीन कोषाध्यक्ष मिलन थापाको नेतृत्वमा समिति बनेको थियो । तर राखिएको तीन दिनमै चुँडिएपछि गुणस्तरमा प्रश्न उठेको थियो भने एक सय ८ किलो सुन राखिएको भनिएपनि ११ किलो कम राखिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । महालेखा परीक्षकको प्रतिवेदनमासमेत जलहरीमा ११ किलो सुनको हिसाब नदेखिएको उल्लेख छ ।

पशुपतिको जलहरीका लागि ८० करोडभन्दा बढीको लगानीमा राष्ट्र बैंकबाट एक सय ३ किलो ७ सय ९३ ग्राम सुन किनिएको थियो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै