• २०८१ बैशाख २१ शुक्रबार

म्याग्दीमा नौ झोलङ्गे पुल निर्माण

kharibot

म्याग्दी । म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० मा नौ झोलुङ्गे पुल निर्माण भएको छ ।  झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा थप नौ वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । टिभिएसयुमार्फत स्थानीय तहले प्राप्त गर्ने बजेटबाट सामाजिक तथा प्राविधिक सहयोग गर्ने गरी मिलनलाई झोलुङ्गे पुल निर्माण गर्ने जिम्मा दिने गरिएको छ । 

मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमायाँ बिटालुका अनुसार निर्माण सकिएका र निर्माणाधिन पुलको कूल लागत रु सात करोड ४३ लाख ९२ हजार आठ सय ९२ रहेको छ । “निर्माणाधीन र सम्पन्न भएका पुलबाट पाँच हजार तीन सय २१ घरधुरीका १५ हजार सात सय ४५ जनसङ्ख्या लाभान्वित हुनेछन्”, उनले भने,  “उपभोक्ता समितिमार्फत पुल निर्माण हुने गरेको छ ।” 

मालिका गाउँपालिकामा पाँच, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकामा दुई÷दुई वटा पुल निर्माण सकिएका छन् । यसैगरी मालिका, धौलागिरि र अन्नपूर्णमा दुई÷दुई, मङ्गला, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकामा एक÷एक वटा पुल निर्माणाधीन छन् । 

मालिका गाउँपालिका–५ को सांगाखोलामा १०० मिटर, मालिका–४ सिस्नेरीको भातीखोलामा ५८ मिटर, मालिका–४ को घोर्सीखोलामा ५८ मिटर, मालिका–४ छिपान्जाखोलामा ५८ र मालिका–७ को शिवरात्रिखोलामा ११४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । 

रघुगङ्गा–१ को ओकिलाखोलामा ४२ मिटर र रघुगङ्गा–८ को रघुगङ्गा खोलामा ९० मिटर लामो पुल निर्माण भएको छ । बेनी नगरपालिका–३ को चिनाखेत खोलामा २८ मिटर र ठुलोखोलामा ३२ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको छ । 

मालिका–४ को दाजुङखोलामा ७० मिटर लामो पुलको ३० प्रतिशत, वडा नम्बर ६ को म्याग्दीखोलामा एक सय १४ मिटर लामो पुलको ८० प्रतिशत, मङ्गला गाउँपालिका–५ को पिपलको म्याग्दी खोलामा ७३ मिटर पुल निर्माणको काम ६५ प्रतिशत सकिएको छ । 

अन्नपूर्ण गाउँपालिका–को दोविल्नाखोलामा ६० मिटर र ठुलोखोलाको ६४ मिटर लामो पुलको निर्माण कार्य ६५/६५ प्रतिशत सकिएको छ । रघुगङ्गा गाउँपालिका–८ को कोसेराखोलामा ३२ मिटर र बेनी नगरपालिका–७ को म्याग्दीखोलामा ४६ मिटर, धौलागिरि गाउँपालिका–७ को म्याग्दी खोलामा एक सय एक र वडा नम्बर ४ को खोलाखर्क खोलामा एक सय १२ मिटर लामो पुल निर्माणको काम ३०/३० प्रतिशत सकिएको छ । 

झोलुङ्गे पुल निर्माण भएपछि खोलामा जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको, बाटोको दूरी छोटिएको, स्थानीयवासीका साथै विद्यार्थीलाई पनि सुविधा पुगेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । झोलुङ्गे पुलको क्षेत्रमा १८ वर्षदेखि काम गरिरहेको मिलन म्याग्दीको अभिलेखअनुसार जिल्लाभर दुई सय ८३ झोलुङ्गे पुल छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै