• २०८१ बैशाख १७ सोमबार

टेबल टेनिस टोली प्रशिक्षणका लागि दक्षिण कोरिया जाँदै

kharibot

काठमाडौँ । नेपाली टेबल टेनिस टोली २६औँ एसियाली टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन भोलि दक्षिण कोरिया प्रस्थान गर्दैछ । यही भदौ १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी सहभागी हुँदैछन् । 

पुरुषमा संयोग कपाली, रुविन महर्जन र विलोश श्रेष्ठ तथा महिलामा सिक्का सुवाल श्रेष्ठ र इभाना थापा रहेका छन् । प्रशिक्षकमा मुख्य प्रशिक्षक सञ्जिव ढुङ्गेल छन् ।

नेपालले पुरुष÷महिला सिङ्गल्स, डबल्स, टिम र मिक्स स्पर्धा गरी ७ स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । पाँचै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

एसियाली खेलकुदमा छ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्दैछन् । एसियाली खेलकुका लागि छनोट भएकी नेपाल नम्बर वान नविता श्रेष्ठ भने टोलीमा समावेश छैनन् । उनी हाइ फर्मेन्स तालिमका लागि शनिबारै अमेरिका जाँदै छिन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आज एक कार्यक्रमबीच बिदाइ गरे । टेबल टेनिस टोली हालै एसियाली खेलकुदको तयारी प्रशिक्षणबाट भारतबाट फर्किएको हो । 

बिदाइका अवसरमा सदस्यसचिव घिसिङले खेलाडीलाई एसियाली खेलकुदको तयारी प्रशिक्षणबारे चासोपूर्वक जानकारी लिनुभएको थियो । खेलाडीले भारतमा भएको तयारी प्रशिक्षण सन्तोषजनक रहेको बताएका थिए । 

यसैबीच अखिल नेपाल टेबल टेनिस सङ्घ, तदर्थ समितिको पहिलो बैठकले सङ्घका वरिष्ठ सहसंयोजक सुदिल शाहीको संयोजकत्वमा खेलकुद विकास ऐनअनुसार सङ्घको नयाँ विधान बनाउन समिति गठन गर्ने निर्णय गरेको छ । 

सङ्घका संयोजक चतुरानन्दराज वैद्यको अध्यक्षतामा आज बसेको बैठकले शाहीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिका सदस्यमा सहसंयोजक वृजेन्द्र हमाल, प्रज्ज्वलकान्त मैनाली, नवीनबहादुर शाक्य र शिवसुन्दर गोथे रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै