• २०८१ बैशाख १८ मंगलबार

आर्थिक सङ्कटबीच सिरियाली बालबालिका विद्यालय फर्कंदै

kharibot

काठमाडौं । युद्ध, विनाशकारी भूकम्प र गहिरो आर्थिक सङ्कटको सामना गर्दै सरकार नियन्त्रित क्षेत्रमा रहेका करिब ४० लाख सिरियाली विद्यार्थी आइतबार विद्यालय फर्केका छन् ।

तर संयुक्त राष्ट्रसङ्घका अनुसार धेरै शैक्षिक सुविधाहरू क्षतिग्रस्त वा नष्ट भएको र ९० प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको देशमा धेरै बालबालिकालाई राख्ने कक्षाकोठा समेतको अभाव छ ।

सिरियाको शिक्षा मन्त्रालयले शनिबार विद्यालयहरूलाई विद्यार्थीहरूको लागि आवश्यक लगार्नी कम गर्न ‘विद्यालय पोशाकका लागि कडा नियम लागू नगर्न आग्रह गरेको राज्य सञ्चालित समाचार संस्था, सानाले जनाएको छ ।

सानाले भनेको छ, “देशले सामना गरिरहेको कठिन आर्थिक अवस्थालाई ध्यानमा राख्दै र जनसङ्ख्यामा वित्तीय बोझ कम गर्ने प्रयासको एक भागको रूपमा यी उपायहरू प्रस्तुत गरिएको छ ।” 

करिब ३७ लाखभन्दा बढी विद्यार्थीका लागि१४ हजार ५०५ विद्यालयबाट पठनपाठन गराउने गरी शैक्षिक सत्र २०२३/२०२४ सुरू भएको छ । 

सिरियामा सन् २०११ पछि भएको रक्तपातपूर्ण द्वन्द्वका कारण पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ, लाखौं मानिस विस्थापित भएका छन् र देशलाई आर्थिक सङ्कटमा धकेलेको छ । 

युद्धले शैक्षिक पूर्वाधारको व्यापक विनाश गरेको छ जसले गर्दा शैक्षिक सुविधाहरूमा असर पारेको छ, धेरै विद्यालय भवनहरू भत्किएका छन् र कैयौं आश्रयस्थलहरूमा परिणत भएका छन् । 

“सन् २०२३ को फेब्रुअरीमा गएको भूकम्पअघि पनि तीनमध्ये एक विद्यालय सेवाविहीन थिए,” संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकायले हालै सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ । 

प्राकृतिक प्रकोपले शिक्षा क्षेत्रमा अनुमानित थप २७७ मिलियन डलरको क्षति पु¥्याएको छ । 

युनिसेफले भनेको छ, “अहिलेको आर्थिक वृद्धिदरमा युनिसेफ र शिक्षा साझेदारहरूलाई क्षतिग्रस्त विद्यालयहरूको पुनस्र्थापनाका लागि थप ३० वर्ष लाग्नेछ ।” 

विद्यालय जाने उमेरसमूहका एक तिहाइ अर्थात् करिब २४ लाख बालबालिका विद्यालय गएका छैनन् भने अन्य १६ लाख बालबालिका विद्यालय छाड्ने जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ । 

वर्षौंको युद्ध र पश्चिमा प्रतिबन्धका कारण आफ्नो क्रयशक्तिमा आएको भारी कमीका कारण आफ्नो आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका आफ्ना परिवारलाई सहयोग गर्न धेरैले विद्यालय छोड्न बाध्य भएका छन् ।

सिरियाको सरकारी सेनाले वर्षौंको लडाइँपछि देशका अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरेको छ तर सिरियाका १४ मध्ये सात वटा प्रान्तका क्षेत्र दमास्कसको नियन्त्रणभन्दा बाहिर छन् । 

देशको उत्तरपूर्वी क्षेत्रमा अर्धस्वायत्त कुर्द प्रशासनद्वारा नियन्त्रित क्षेत्रहरूमा आइतबार पनि विद्यालय वर्षको सुरुवात भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै