• २०८१ जेठ ५ शनिबार

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानै किर्तिमान !

kharibot

काठमाडौँ । नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मंगोलियाविरुद्ध कैयौं किर्तिमान बनाएको छ ।

१९औं एसियाली खेलकुदमा कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीको कीर्तिमानी ब्याटिंगमा ३१४ रन बनाएको नेपालले टी-२० क्रिकेटको इतिहासमै सर्बाधिक रन बनाएर नयाँ किर्तिमान बनाएको छ ।

यो टी-२० इतिहासकै अहिलेसम्मको उच्च योगफल हो । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २०१९ मा सर्बाधिक २७८ रन बनाएको थियो । भने २०१९ मै चेक रिपब्लिकले टर्कीविरुद्ध पनि २७८ रन बनाएको थियो । 

त्यस्तै यस खेलमा नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रन अविजित बनाए भने दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रन अविजित बनाएका थिए ।

यस खेलमा कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टी-२० को  इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । यसअघि टी-२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । जसमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पुरा गरेर विश्व किर्तिमान बनाएका छन् । १९औं ओभरमा ५ छक्का प्रहार गरेका दिपेन्द्रले भारतीय ब्याट्सम्यान युवराज सिंहको १२ बलमा अर्धशतक बनाएको विश्व कीर्तिमान तोडेका हुन् ।

त्यसैगरी नेपालले यस खेलमा एक इनिंगमा सर्बाधिक छक्का प्रहारको रेकर्ड पनि बनाएको छ । नेपालले यस खेलमा कुल २६ छक्का प्रहार गरेको थियो । जुन अहिलेसम्म टी-२० अन्तर्राष्टिय खेलमा एक इनिंगमा प्रहार गरिएको सबैभन्दा बढी हो । 

यस अघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २०१९ मा र वेस्टइन्डिजले दक्षिण अफ्रीकाविरुद्ध २०२३ मा २२-२२ छक्का प्रहार गरेका थिए ।

त्यसैगरी नेपालले मंगोलियालाई सबैभन्दा ठुलो अन्तरले पराजित गर्ने रेकर्ड समेत बनाएको छ । मंगोलियालाई २७३ रन अन्तरले पराजित गर्दै नेपालले टी-२० इतिहासकै फराकिलो रन अन्तरले जित हासिल गरेको छ ।

यस अघि टी-२० खेलमा चेक रिपब्लिकले टर्कीलाई २५७ रन अन्तरले पराजित गरेको रेकर्ड थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै