• २०८१ बैशाख २६ बुधबार

बंगलादेशले दियो भारतलाई २५७ रनको लक्ष्य 

kharibot

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा आज बंगलादेशले भारतलाई २५७ रनको विजयी लक्ष्य दिएको छ । भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियममा टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले निर्धारित ओभरमा ८ विकेटको क्षतीमा २५६ रन बनायो । 

बंगलादेशका ओपनर लिटन दासले सर्वाधिक ६६ रन बनाए । अर्का ओपनर तानजिद हसनले ५१ रन बनाए । यस्तै महमुदूल्लाह रियाद ४६, मुश्फिकुर रहिम ३८, तौहिद हृदोय १६, र कप्तान नाज्मुल हसन शान्टो ८ रन र नासुम अहमदले १४ रन बनाए । 

भारतका रविन्द्र जडेजा, मोहम्मद शिराज र जस्प्रित बुमराहले समान २-२ विकेट लिए । यस्तै कुलदीप यादवले १ विकेट लिए । 

जारी विश्वकपमा भारतले यसअघि लगातार तीन खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ भने बंगलादेशले खेलेका तीन खेलमा एक जित र दुई हार बेहोरेको छ ।

भारतले आफ्नो पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । 

त्यसैगरी बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा इङल्याण्डसँग १३७ रनको हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा न्यूजील्याण्डसँग ८ विकेटको हार बेहोरेको थियो । 

भारत र बंगलादेशबीच अहिलेसम्म ४० एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा भारतले ३१ खेल जितेको छ भने बंगलादेशले ८ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन । तर रोचक के छ भने भारत र बंगलादेशबीच २०१९ को विश्वकपपछि खेलिएका चार खेलमा बंगलादेशले ३ खेल जितेको छ भने भारतले १ खेल मात्र जितेको छ । पछिल्लो पटक दुवै एशिया कपको सुपर फोरमा खेलेका थिए, सो खेलमा बंगलादेशले भारतलाई ६ रनले पराजित गरेको थियो । 

यस खेलमा भारतले कुनै परिवर्तन गरेको छैन भने बंगलादेशले भने नियमित कप्तान शकिब अल हसनको ठाउँमा नसम अहमदलाई खेलाएको छ । आज बंगलादेशका लागि नाजमूल होसैन शान्तोले कप्तानी गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै