• २०८१ बैशाख १५ शनिबार

पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा 

kharibot

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भएको खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ । 

पाकिस्तानले दिएको २७१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४७.२ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । दक्षिण अफ्रिकालाई जित दिलाउन अदिम मार्कमले सर्वाधिक ९१ रन बनाए ।

यस्तै डेभिड मिलर २९, कप्तान तेम्बा बभुमा २८, क्वीन्टक डि क्वक २४, रसी भेन डेर डुसन २१ र मार्को जेनसेनले २० रन बनाए । पाकिस्तानका लागि बलर सहिन साह अफ्रिदले ३ विकेट लिए । यस्तै महोम्मद वाशिम, उसामा मिर र हरिश रौफले समान २–२ विकेट लिए । 

यसअघि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिंग रोजेको पाकिस्तान ४६.४ ओभरमा २७० रनमा अलआउट भएको थियो । 

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० र साउद सकिलले ५२ रन बनाएका थिए । यस्तै सहदाव खान ४३, महोम्मद रिजवान ३१, महोम्मद नवाज २४ र इफ्तीखर अहमदले २१ रन जोडे । दक्षिण अफ्रिकाका लागि बलर तबरेज साम्सीले ४ विकेट लिए । यस्तै मार्को जनसेनले ३, गेराल्र्ड कोटजे २ तथा लुगिं एनगिडीले एक विकेट लिए । 

जारी विश्वकपमा दक्षिण अफ्रिकाले ६ खेल खेल्दै ५ जित र एक हारसहित १० अंक बटुलेर पहिलो स्थानमा उक्लिएको छ भने पाकिस्तानले ६ खेलमध्ये २ जित र ४ हारसहित ४ अंक बटुलेर छैटौं स्थानमा यथावत छ ।

अब यस खेलको जितले दक्षिण अफ्रिकालाई सेमिफाइनलको छनौटको नजिक पुर्याएको छ भने पाकिस्तानको सेमिफाइनलको दौड मुश्किलमा पर्ने छ । पाकिस्तान पछिल्लो खेलमा अफगानिस्तानसँग पराजित भएर दबाबमा रहेको छ भने दक्षिण अफ्रिकाले यस विश्वकपमा अहिलेसम्म राम्रो प्रदर्शन गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै