• २०८१ बैशाख १६ आइतबार

नेपालगन्ज उपमहानगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा

kharibot

प्रतिनिधि सभा

राँझा (बाँके) । नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत व्यवस्था गरेको छ । 

उपमहानगरपालिकाले गत साउन १ गतेबाट सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताए ।  

उपमहानगरपालिकाभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरबाट अस्पतालसम्म पुर्याउन निःशुल्क सञ्चालन गरिएको एम्बुलेन्स सेवा मातृशिशु मृत्युुदर घटाउन प्रभावकारी भएको उनको भनाइ छ ।

उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताए । “अस्पतालसम्म पुग्न बिरामीले कुनै कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार जनताको सुख, दुःखमा सँगसँगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो”, उनले भने, “चौबीसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स ‘स्ट्याण्डबाई’ रहन्छन्, हामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि बिरामीलाई समयमै अस्पताल पुर्याउने व्यवस्था गरेका छौँ ।”

सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै भएकाले उपमहानगरपालिकाले स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाले नगरका २३  वडालाई लक्षित गरेर वडा नं ४ मा पहिलोपटक एक जना एमबिबीएस चिकित्सक र ल्याब टेक्निसियनसहित स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको छ । 

“विशेषज्ञ सेवाका लागि नेपालगन्जमै भेरी अस्पताल रहेकाले नागरिकको स्वास्थ्य प्रवर्द्धनात्मक सेवाका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको छ”, उनले भने, “अहिले विकराल बन्दै गएको नसर्ने रोगको अवस्थालाई मध्यनजर गरी केन्द्रबाट नगरवासीलाई स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम तथा सेवा प्रवाह गरिएको छ ।”

सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै हुँदै गएकाले शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिकरूपमा स्वस्थ भएमात्र मानिस स्वस्थ हुने भएकाले स्वास्थ्य प्रवर्द्धनका लागि सबैले पैरवी गर्ने बेला आएको उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै