• २०८१ बैशाख १६ आइतबार

राप्रप अध्यक्ष लिङदेनसहितका नेताले भैरहवा पुगेर गरे पूर्वराजा ज्ञानेन्द्रसँग छलफल

kharibot

बुटवल । दुई साता देखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच शिर्ष नेताहरुले भेटवार्ता गरेका छन् ।

पूर्वराजा शाहकै आग्रहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू अध्यक्ष राजेन्द्र लिंदेनका साथै बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंहले भैरहवा पुगेर भेट गरेको बुझिएको छ । उनीहरुले पूर्व राजा ज्ञानेन्द्रसँग बिहानको खानासँगैको छलफल गरेर आज काठमाडौँ फर्किने बताइएको छ ।

राप्रपाले यसअघि नै फागुन ७ गते देखि आन्दोलन गर्ने घोषणा गरेका बेला ज्ञानेन्द्रले उनीहरूसँग सोहि विषयमा छलफल गर्न बोलाएको हुनसक्ने अनुमान गरिएको छ ।

ज्ञानेन्द्रले आफ्ना नाति हृदयन्द्र शाहसँगै गत शनिवार कपिलवस्तुको शिवराज नगरपालिका—३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका थिए । यसलाई उनले हृदयन्द्रलाई राजाको रुपमा स्थापित गर्ने गरि उनले अगाडी बढाउन खोजेको रुपमा विश्लेषण गरिरहेका छन् । 

उनी भैरहवास्थित पाँचतारे होटेल सिद्धार्थ भिलासामा बसेका छन् । बिहान सुरक्षाकर्मी लिएर मर्निङ वाकमा निस्कने गरेका पूर्वराजा १२ गते भैरहवाको भाटभटेनी सुपरमार्केट गएर किनमेल गरेका थिए । १० गते बुटवलको ड्रिम होटलमा पुगेर बिहानको खाना खाएका थिए । 

यस्तै यही पुस १९ गते भैरहवामा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । नागरिक अभिनन्दन समितिका संयोजक डा. रामप्रसाद बस्यालका अनुसार पूर्व राजालाई भैरहवाको गल्लामण्डीमा अभिनन्दन गर्ने तयारी छ । त्यस्तै १७ गते परासी जाने समितिले जानकारी दिएको छ ।

भैरहवा मुकाम बनाएर बुटवलको जीतगढी किल्ला र निलकण्ठ धाम, देवदहको पाकरी वृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिर लगायतका स्थान भ्रमण गर्ने शाहको तयारी छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै