• २०८१ बैशाख १७ सोमबार

दुर्गम क्षेत्र बागलुङको तमानखोलामा मातृशिशु मृत्युदर शून्य

kharibot

ढोरपाटन (बागलुङ) । अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती । चारैतिर भिर, पहरा । एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्ने । वर्षौंदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको बागलुङको तमानखोला गाउँपालिका पछिल्लो समय विकासोन्मुख बन्दै गएको छ । 

आधादशक अगाडिसम्म सामान्य स्वास्थ्य सेवा लिनका लागि दिनैभरि लगाउनुपर्नेमा अहिले तमानखोलावासी एक गाउँबाट अर्को गाउँ पुग्न आधा घण्टा हिँडे पुगिन्छ । छोटो समयमै स्वास्थ्य क्षेत्रमा फड्को मारेको तमानखोला जिल्लामै नमुना पालिकाका रुपमा स्थापित बन्दै गएको छ । 

दुर्गम हुँदाहुँदै पनि तमानखोलामा मातृशिशु मृत्युदरमा शून्य छ । गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना हुनु, स्वास्थ्य सचेतनाका साथै शिक्षाको पहुँचलगायत कारणले यसअघि धामीझाँक्रीमा विश्वास राख्ने स्थानीय अहिले अस्पताल पुग्न थालेका छन् ।

नजिकैको स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच, सुत्केरी ब्यथा लाग्नु अगाडि नै बर्थिङ सेन्टर पुग्नाले पालिकामा मातृशिशृ मृत्युदर शून्यमा झरेको तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर छन्त्यालले बताए । हरेक बस्तीका महिलालाई नियमित गर्भ जाँच गराउने तथा स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना विकास हुँदै गएकाले मातृशिशु मृत्युदर शून्यमा झरेको उनको भनाइ थियो । 

स्थानीय तह आउनुपूर्व तमानखोलामा तीन स्वास्थ्य चौकी थिए । अहिले प्रत्येक वडा तथा बस्तीमा स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर स्थापना भएर सेवा प्रवाह गरिरहेका छन् । तीन स्वास्थ्य चौकीबाट सेवा लिँदै आएका हजारौँ तमानखोलावासीलाई अहिले ठाउँठाउँमा स्थापना भएका स्वास्थ्य संस्थाले उपचारमा सहजता पुर्याउनुका साथै स्वास्थ्य सम्बन्धि सचेत पनि गराइरहेको छ । 

“स्वास्थ्य चौकी टाढा हुँदा घरमै सुत्केरी हुने महिला अहिले बर्थिङ सेन्टरमा पुगेर बच्चा जन्माउने गरेका छन् । यसले गर्दा आमा र बच्चा सुरक्षित हुने गरेका हुन्”, स्वास्थ्य शाखा संयोजक छन्त्यालले भने । उहाँका अनुसार गाउँपालिकाले वडा नं १ को बोङ्गादोभान, वडा नं ३ को तमान, वडा नं ५ को खुङ्खानी र वडा नं ६ को आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर संचालन गरिरहेको छ । 

छन्त्यालले बर्थिङ सेन्टर बढाएर सेवा दिन थालेसँगै महिला गर्भ जाँच तथ नियमित स्वास्थ्य परीक्षणमा सचेत भएकाले मातृशिशु मृत्युदर शून्य भएको बताउनुभयो । पहिले जनचेताको कमी, स्वास्थ्य संस्था टाढा हुनुलगायत कारणले धेरै आमा र बच्चाले ज्यान गुमाउनु परेको भन्दै अहिले स्वास्थ्य संस्थाको दायरा बढाएर समुदायसम्म स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका पुगेर जनचेतनामूलक कार्यक्रम गर्न थालेपछि समस्या अन्त्य हुँदै गएको उहाँको भनाइ थियो । अहिले महिलाले अस्पतालमा बच्चा जन्माउने गरेकाले घरमा सुत्केरी हुनेहरु शून्यमा झरेको उनले जानकारी दिए ।

“पछिल्लो समय स्वास्थ्यमा धेरै परिवर्तन भएको छ । गाउँका महिला दिदीबहिनी पनि सचेत बन्दै जानुभएको छ । अहिले उहाँहरुमा बिरामी भएपछि अस्पताल जानुपर्छ भन्ने चेतना विकास भएको छ । गर्भवती महिलाले नियमित गर्भ जाँच गर्ने, केही समस्या भए स्वास्थ्यकर्मीलाई फोनमार्फत जानकारी लिने गर्नुहुन्छ । स्वास्थ्य स्वयंसेविकासहितको टोलीले समयमा समुदायमा पुगेर सचेत गराउने काम गरेका छौँ”, छन्त्यालले भने । पहिले घरमै सुत्केरी हुनेको सङ्ख्या बढी भएकाले मातृशिशु मृत्युदर पनि बढी भएको उनको भनाइ थियो । 

स्थानीय मनकुमारी रसाइलीले घर नजिकै स्वास्थ्य संस्था स्थापना भएपछि गाउँका धेरै महिला नियमित जाँचका लागि आउने गरेको बताइन् । भौगोलिक विकटताका कारण केही वर्ष अगाडिसम्म महिलालाई सुत्केरी व्यथाले च्याप्यो भने डोकामा बोकेर अस्पताल पुर्याउने गरेकामा अहिले त्यो स्थिति नरहेको उनको भनाइ थियो । 

डोकामा बोकेर लैजाँदा कोहीले अस्पतालमा पुगेर बच्चा जन्माउने, कोही बाटोमै सुत्केरी हुने गरेको रसाइलीले बताइन् । “पहिलेपहिले गाउँमा अहिलेको जस्तो बाटो नभएकाले गाडी चल्दैनथे । गाउँमा अस्पताल पनि थिएनन् । अहिले मोटर गाडीका साथै अस्पताल पनि गाउँमै आएका छन्”, उनले भनिन्, “पहिला कोहीलाई सुत्केरी व्यथा लागेमा डोकामा बोकेर दिनभरि हिँडालेर अस्पताल पुर्याउनुपथ्र्यो । यसरी अस्पताल लैजाँदा कतिपयले बाटोमै सुत्केरी हुन्थे, कोही अस्पतालमा, कोहीको बीच बाटोमै मृत्यु हुन्थ्यो, नजिक अस्पताल भएपछि त्यस्तो घटना भएका छैनन् ।”

छ वटा वडा रहेको तमानखोलामा चार स्थानमा बर्थिङ सेन्टर सञ्चालित छन् । बर्थिङ सेन्टर छवटै वडाका नागरिकका लागि पायकपर्ने स्थानमा छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले आमनागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्यचौकीसँगै स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको बताए । 

गाउँपालिकाले वडा नं ६ को नर्जाखानी, ४ को लाम्मेला र वडा नं २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाइ तथा वडा नं १ को सम्मर, वडा नं २ को सिल्गुम र वडा नं ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

“हामीहरु सुरुआती दिनदेखि नै यहाँको स्वास्थ्य क्षेत्रको सुधार गरेर नागरिकको जीवनरक्षा गर्नुपर्छ भन्ने हिसाबले काम गरिरहेका छौँ । कोही पनि नागरिक सामान्य उपचारका लागि दिनभरि लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था अहिले अन्त्य भएको छ”, अध्यक्ष बुढामगरले भने, “स्वास्थ्य संस्थाको विस्तार, स्तरोन्नति र प्रभावकारी सेवा प्रवाहसँगै गत वर्षदेखि एम्बुलेन्स सेवा पनि सुरु गरेका छौँ ।” स्वास्थ्य संस्था तथा परामर्श केन्द्र सञ्चालनमा आएसँगै यहाँका प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको उनको भनाइ थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै