• २०८१ बैशाख ३० आइतबार

बम्जनको आश्रमबाट को कहिले बेपत्ता भएका थिए ?

kharibot

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई मंगलबार साँझ पक्राउ गर्‍यो।  बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट पक्राउ परेका बम्जनलाई ब्युरोले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

बम्जनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएको खुलेको छ।  तिनीहरूमध्ये एक हुन् २९ वर्षीया चुन्मो भनिने चिनिमाया तामाङ। नुवाकोट मेधाङ गाउँपालिका-३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाडेगाउँको आश्रमबाट बेपत्ता भएकी थिइन् । 

ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन्। उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन। यस्तै, सिन्धुपाल्चोक बाडेगाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चलाल वाइबा। हेटौंडा उपमहानगरपालिका-१३ घर भएका उनी २०७१ साल चैत १४ गतेबाट बेपत्ता भएका थिए। 

सिन्धुपाल्चोक बाडेगाउँकै आश्रमबाट बेपत्ता भएकी तेस्रो व्यक्ति हुन् फूलमाया रुम्बा। ३० वर्षीय रुम्बा हेटौंडा उपमहानगरपालिका-१६ की हुन्। उनी २०७१ साल माघ महिनाबाट बेपत्ता भएकी थिइन् । 

यसैगरी, बमजनको आश्रमबाट बेपत्ता भएका चौथो व्यक्ति ३४ वर्षीय सुरेशकुमार आले हुन् । उनी निजगढ नगरपालिका-१२ खुमजोरस्थित बमजनको आश्रमबाट २०७२ जेठ महिनामा बेपत्ता भएका थिए। उनी जितपुर सिमरा उपमहानगरपालिका-१५ बडहर्वाका हुन् ।

२०७१ साल साउन महिनादेखि बाराको हलखोरियास्थित आश्रममा काम गर्ने एक आनीले जाहेरी दिएपछि बमजनको खोजीमा प्रहरी लागिरहेको थियो ।  बम्जनले बलात्कार तथा यौन शोषण गर्ने गरेको जाहेरी परेपछि प्रहरीले उनीविरूद्ध २०७६ साल माघ २३ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै