• २०८१ बैशाख १७ सोमबार

बन्दीपुर केबलकार आगामी वैशाखदेखि सञ्चालनमा आउने

kharibot

दमौली (तनहुँ)। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । 

बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो । 

हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिए । केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने उनले बताए ।

उनले भने, “यसअगाडि लट्ठाको परीक्षण गरिएकामा केही प्राविधिक समस्या देखिएपछि त्यसलाई निराकरण गरेर हाल डब्बा राखेर परीक्षणको काम भइरहेको छ ।” 

आगामी वैशाख १ गतेदेखि केबलकार सञ्चालन गर्ने तयारी गरिएको छ । उनले भने, “केबलकारको सबै परीक्षण सकिएपछि व्यावसायिक प्रमाणपत्र प्राप्त हुनेछ, नयाँ वर्षदेखि केबलकार सञ्चालनमा आउनेछ ।”

यसैगरी निर्माणाधीन पाँच तारे होटल भने आगामी वर्षको मङ्सिरदेखि सञ्चालन गर्ने तयारी छ । होटलको भित्री कामबाहेक अन्य सबै सकिएको उपाध्यायले बताए ।

उनले भने, “होटलको काम पनि अन्तिम चरणमा पुगेको छ, पहिला केबलकार सञ्चालनमा आउने र होटलको काम बाँकी नै रहेकाले होटलपछि सञ्चालन गर्ने गरी काम भइरहेको छ ।”

प्रतिघण्टा पाँच सय यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार विभिन्न ‘सिफ्ट’ गरेर दैनिक बिहान ६ देखि राति ११ बजेसम्म सञ्चालन हुनेछ ।

केबलकारले साँझ ५ देखि राति ११ बजेसम्म रेष्ट्रो क्याबिन रेष्टुराँ एवं आराम कक्ष सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी गरेको छ ।

विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । करिब ३९ प्रतिशतमात्र ऋण लिएको यस परियोजनामा एसबिआइ बैंक र सहवित्तीयकरणका रुपमा एनएमबी बैंकको सहकार्य रहेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

विसं २०८१ मङ्सिरभित्र पाँच तारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सोही वर्षको जेठभित्र भ्युजरुम, असारभित्र बाक्स म्युजियम, साउनभित्र जिपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ ।

केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यसअगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पुराइएको छ । 

होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुराइएको छ । दश तल्लाको होटलसहितको भवनमा आधुनिक दृश्यावलोकन स्तम्भ, ‘बेनक्युट हल’ र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । 

यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी : बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेसनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको छ ।

बन्दीपुर–४ ठूल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । 

ठूल्ढुङ्गास्वाँराबाट सुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ । 

केबलकारको साधारण शेयरको सार्वजनिक निष्कासन (आइपिओ) खुल्ला गर्न सम्झौता भइसकेको छ । लिमिटेडको प्रतिशेयर अङ्कित मूल्य रु एक सय दरका २५ लाख ८० हजार कित्ता साधारण शेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्कासन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ ।

रु तीन अर्ब ४९ करोड कूल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब १५ करोड रहेको छ । त्यसमध्ये चुक्ता पुँजीको दुई प्रतिशतअर्थात् रु चार करोड ३० लाख परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ ।

चुक्ता पुँजीको दश प्रतिशत रु २१ करोड ५० लाख सर्वसाधारणलाई छुट्याइने लिमिटेडले जनाएको छ । 

आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै