• २०८१ बैशाख १७ सोमबार

‘घुम्न जाऔँ बन्दीपुर’ अभियान

kharibot

दमौली (तनहुँ ) । तनहुँको बन्दीपुर गाउँपालिकाले घुम्न जाऔँ बन्दीपुर अभियान थालनी गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो । 

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले थप आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउन अभियान सुरु गरिएको जानकारी दिए । यसका लागि बन्दीपुरमा क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागितामा देशका विभिन्न सहरमा पुगेर बन्दीपुरको पर्यटनको प्रचारप्रसार गर्नेछन् । 

अभियानअन्तर्गत अध्यक्ष थापाको नेतृत्वमा टोली बुटवल पुगेको छ । बुटवलमा पुगेर बन्दीपुरको प्रचारप्रसार गर्दै घुम्नका लागि निम्तो दिने कार्यक्रम रहेको छ । उनले भने, “देशका प्रमुख सहरमा पुगेर घुम्न जाऔँ बन्दीपुरको प्रचारप्रसार गर्छौं । यसले गर्दा बन्दीपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।”

पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरको प्रचारप्रसारका लागि यो अभियान फलदायी हुने विश्वास व्यक्त गरे । उनले भने, “बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । यसको थप प्रचारप्रसार गर्न आवश्यक रहेकाले यो अभियान सुरु भएको हो ।”

होटल व्यवसायी वैश गुरुङले बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि यो अभियान कोसेढुङ्गा हुने बताए । गाउँपालिकाका पर्यटन शाखाका सुरोज भट्टराईका अनुसार देशका प्रमुख सहरमा यो अभियान सञ्चालन हुनेछ ।  बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन विभिन्न प्रवद्र्धनका कार्य प्राथमिकताका साथ अगाडी बढाइने गाउँपालिकाले जनाएको छ ।  बन्दीपुरलाई पर्यटकीय केन्द्र बनाइने र त्यसका लागि पूर्वाधार निर्माणमा जोड दिइने अध्यक्ष थापाले बताए । बन्दीपुर गाउँपालिकाका छवटै वडामा रहेका पर्यटकीय गन्तव्यलाई विकास गरिने नीति लिइएको उनले बताए । 

उनले भने, “पर्यटकीयस्थलको सम्वद्र्धन र प्रवद्र्धन गरी गाउँपालिकालाई पर्यटनका माध्यमबाट समृद्ध बनाउने सोच राखिएको छ । ” गाउँपालिकाभित्र रहेका घरबास ९होमस्टे०को विकास, पर्यटकीय लक्षित उत्पादनलाई प्राथमिकतामा राखिइएको छ । गाउँपालिकाभित्र जीप फ्लायर र रक क्लाइम्बिङको सम्भाव्यता अध्ययन गरिने उनको भनाइ छ । 
पर्यटकीय नगरी बन्दीपुर भित्रिने पर्यटकको लगत राख्न पर्यटन सूचना केन्द्र स्थापना गरिने अध्यक्ष थापाले बताए । होमस्टेको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी ‘होमस्टे सर्किट’को विकास गर्ने नीति गाउँपालिकाले  लिएको छ ।  

गाउँपालिकाले आगामी माघ महिनामा सिद्धगुफा महोत्सव आयोजना गरी सिद्धगुफाको प्रचारप्रसार गर्ने लक्ष्य राखेको छ । बन्दीपुर बजारलाई थप आकर्षक बनाइने र यसलाई पौराणिक सहरको रुपमा विकास गरिने लक्ष्य राखिएको उनले बताए । 

बन्दीपुरका मुख्य बजार क्षेत्र संरक्षित क्षेत्र घोषणा भएको र यहाँ घर निर्माण गर्दा मौलिकता झल्किने खालको हुनुपर्ने नीतिलाई निरन्तरता दिइएको उनको भनाइ छ । सहासिक, धार्मिक र एग्रो टुरिजमसमेत सम्भावना भएकाले सोका लागि कार्यक्रम बनाउने र समग्र बन्दीपुरको जनजीवन, भाषा, कला, संस्कृति, वेशभूषा, चाडपर्व, रहनसन र रीतिरिवाज झल्कने सङ्ग्रहालय निर्माणको प्रारम्भ गरिने उनले बताए । 

मुकुन्देश्वरी पदमार्गको निर्माणलाई निरन्तरताका साथ थप विस्तार गर्दै हाफ म्याराथन र साइक्लिङिजस्ता पर्यटन प्रवद्र्धन लक्षित कार्यक्रम सञ्चालन गर्ने, बन्दीपुरको छिम्केश्वरी माइको दर्शनका लागि विशेष कार्ययोजना बनाई प्याकेजको रुपमा अगाडि बढाउन नीति क्षेत्रलाई प्रोत्साहन गरिने अध्यक्ष थापाले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै