• २०८१ बैशाख २१ शुक्रबार

शीतगङ्गा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु

kharibot

अर्घाखाँची। अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आजदेखि तेस्रो शीतगङ्गा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ ।

शीतगङ्गा नगरपालिका वडा नं २ सीतापुरको गैरीखेतमा सुरु भएको महोत्सवको लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले उदुघाटन गरेका छन् ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री राणाले पहाडीगाउँमा बढ्दो बसाइँसराइ रोक्न घरेलु उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन् । गाउँमा बसेर उद्योग सञ्चालन गर्ने युवालाई लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने बताए ।

नेपालको सबैभन्दा ठूलो शीतगङ्गाको प्रचार–प्रसार र उद्योग स्थापनामा नगरपालिकाले कार्यक्रम बनाउनुपर्ने बताएका छन् ।उनले नगरले बनाउने योजनामा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए ।

शीतगङ्गा नगरपालिकालाई व्यावसायिक पर्यटकीय हिसाबले देश–विदेशमा चिनाउन,  नगरमा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुको प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको शीतगङ्गा उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिन्तराज अधिकारीले बताए ।

नगरभित्र उत्पादित वस्तुको प्रवर्द्धन, पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि महोत्सवले निकै राम्रो भूमिका खेल्ने नगरप्रमुख छविलाल पौडेलले बताए ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जमशेर मियाँले उद्योगी व्यवसायीलाई काम गर्ने वातावरण अहिलेको अवस्थामा नभएकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

उनले तीनै तहका सरकारले उद्योग खोल्ने युवालाई सहयोग गर्नु अपरिहार्य भएको धारणा राखे ।

माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र  रु दुई करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष अधिकारीले बताए ।

कार्यक्रममा नगरप्रमुख छविलाल पौडेल, उपप्रमुख गीता भाट, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनाल, समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहानलगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै