• २०८१ बैशाख २३ आइतबार

विश्वप्रकाशको प्रतिवेदन- मन्त्रीहरुको कार्यसम्पादन राम्रो भएन, कोशीको गल्तिको समिक्षा हुनुपर्छ

kharibot

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा पार्टीका मन्त्रीहरुको आलोचना गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री शर्माले आफ्ना मन्त्रीको कार्यसम्पादनबारे गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिएका हुन् ।

समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री शर्माले भने- 'पूरै पाँच वर्ष यो गठबन्धन कायम रहनुपर्छ भन्ने हाम्रो निर्णय एकातर्फ छ तर, अर्कोतर्फ नागरिकको अपेक्षाअनुरुप सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ । कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चय नै छ । तर, केही मन्त्रीको भूमिका मन्त्रीका रुपमा प्रभावकारी विल्कुलै छैन ।' 

साथै महामन्त्री शर्माले वर्तमान सरकारले नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न नसकेको आरोप समेत लगाउदै संघीयता कार्यान्वयनका विषयमा सरकारबाट कमजोरी भइरहेको बताए । 

यथाशिघ्र प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग गर्दै महामन्त्री शर्माले सरकारको सफलता र असफलतामा कांग्रेसको पनि छबि गाँसिएको टिप्पणी गरेका छन् । उनले भने- 'वर्तमान सरकारको सफलता असफलतासँग कांग्रेसको पनि छबि गाँसिएको छ। सरकारले गर्ने राम्रा कामको जस लिन नसक्ने तर अपजसहरूको भारी बोक्नुपर्ने? भन्ने प्रश्न र असन्तुष्टि कांग्रेस पार्टी पंक्तिमा देखिन्छ ।'

साथै महामन्त्री शर्माले कोशी प्रदेशमा भएको गल्तीलाई गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्-  'संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनका लागि आह्वान भएपछि कोशीमा जेजस्तो घटनाक्रम विकसित भयो, त्यसले कांग्रेसभित्रै द्वन्द्व सिर्जना भएको थियो । माओवादी पार्टीसँग त्यसबेला कायम रहन नसकेको समझदारी राष्ट्रिय सभाको निर्वाचन परिणामपछि झनै समस्याको चपेटामा परेको छ । गठबन्धनको सरकार पाँच बर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन, खुला छलफल र आपसी विश्वासले मात्र त्यो सम्भव हुने तथ्य भुल्न मिल्दैन ।'

उनले गठबन्धनमा रहिसकेपछि स्वतन्त्र गतिविधि गर्न नमिल्ने प्रष्ट पर्दै भनेका छन्- 'हामीले के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र छौं, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौं । केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य संकटमा पर्नेछ ।'

महासमिति बैठकमा महामन्त्री शर्माले चुनावी या सत्ता गठबन्धन दल र दलका बीच संस्थागत निर्णयको आधारमा हुने बताए । गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्काउमा हुन नहुनेमा उनले जोड दिएका थिए ।

सोमबारदेखि शुरु भएको कांग्रेसको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश भैरहेका छन् भने प्रतिवेदन पेश भएपछि दुई समुहमा विभाजन गरेर छलफल गर्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै