• २०८१ बैशाख १५ शनिबार

विनोद चौधरीमाथि छानबिन भइरहेको सिआइबीले दियो सभामुखलाई जानकारी

kharibot

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि छानबिन भइरहेको सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

बुधबार सिआइबीले सांसद चौधरीमाथि छानबिन भइरहेको सभामुख घिमिरेलाई पत्र मार्फत जानकारी गराएको हो । 

काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सिआइबीले छानबिन गरिरहेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको भन्दै सिआइबीले यस अघि व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । सोही प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि पनि छानबिन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए ।
सांसद चौधरीले चैत ५ गतेको संसद बैठकमा बाँसबारी जग्गा सरकारले गरेको लिलामीमार्फत् आफूहरूले लिएको बताएका थिए ।

यसअघि सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो । कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ चौधरी ग्रुपले सिजी चाँदवाग रेजिडेन्सी बनाएको थियो । 

पक्राउ परेका चार जना ६ दिनको हिरासतपछि काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिर जमानीमा छोड्न दिएको आदेशपछि छुटेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै