• २०८१ बैशाख १८ मंगलबार

हेपाटाइटिसबाट दैनिक ३५ सयको ज्यान जान्छ- डब्ल्यूएचओ

kharibot

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मङ्गलबार चेतावनी दिएको छ । सङ्गठनले दोस्रो सबैभन्दा ठूलो सङ्क्रामक हत्यारा यस भाइरससँग लड्न छिटो कारवाही गर्न आग्रह गरेको छ । 

यस साता पोर्चुगलमा भएको विश्व हेपाटाइटिस शिखर सम्मेलनका साथ जारी डब्ल्युएचओको प्रतिवेदनअनुसार सन् २०२२ मा एक सय ८७ मुलुकको तथ्याङ्कले भाइरल हेपाटाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १३ लाख पुगेको देखाएको छ । डब्ल्यूएचओको ग्लोबल एचआईभी, हेपाटाइटिस र यौन सञ्चारित सङ्क्रमण कार्यक्रम प्रमुख मेग डोहर्टीले यो डरलाग्दो प्रवृत्ति भएको बताए । 

प्रतिवेदनमा हेपाटाइटिस सङ्क्रमणबाट विश्वभर दैनिक तीन हजार पाँच सयको मृत्यु हुने गरेको र त्यसमा ८३ प्रतिशत हेपाटाइटिस बी र १७ प्रतिशत हेपाटाइटिस सीबाट हुने उल्लेख छ ।

प्रतिवेदनमा प्रभावकारी र सस्तो जेनेरिक औषधिले यस्तो भाइरसहरूको उपचार गर्न सकिने र सन् २०२२ मा पुरानो हेपाटाइटिस–बी बाट सङ्क्रमण भएकामध्ये तीन प्रतिशतले मात्र उपचार पाएको उल्लेख छ । हेपाटाइटिस–सीबाट सङ्क्रमितमध्ये २० बीस प्रतिशतको उपचार गरिएको थियो ।

“हेपाटाइटिसको सङ्क्रमणलाई रोक्न विश्वव्यापी रूपमा प्रगति भए पनि मृत्युदर बढ्दै गएको छ”, डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले एक विज्ञप्तिमा भने ।

अफ्रिकामा पाँचमध्ये एक शिशुलाई जन्मको समयमा खोप लगाइए पनि नयाँ हेपाटाइटिस–बी सङ्क्रमणको ६३ प्रतिशत मामिला देखिएको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्र एजेन्सी डब्ल्युएचओले प्रभावित देशहरूसँग जेनेरिक हेपाटाइटिस औषधिमा पर्याप्त पहुँच नभएकामा पनि दुःख व्यक्त गरेको छ ।

प्रतिवेदनअनुसार कूल हेपाटाइटिसका दुई तिहाइ केस बङ्गलादेश, चीन, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, रुस र भियतनाममा छन् । सन् २०२५ सम्ममा यी १० देशमा हेपाटाइटिस  रोकथाम गर्न र उपचारमा विश्वव्यापी पहुँच पुयाउन आवश्यक रहेको डब्ल्यूएचओले बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै