सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री कँडेलले प्रदेश सभामा सम्बोधन गर्दै प्रमुख दल नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफुविरुद्ध अविश्वास प्रस्ताव ल्याएको भन्दै आफुले राजीनामा दिने घोषणा गरेका थिए ।
मुख्यमन्त्रीले राजीनामाको घोषणा गरेपछि अविश्वासको प्रस्ताव अगाडी बढाउन आवश्यक नभएको भन्दै प्रदेश सभा बैठक स्थगित भएको छ ।
यसअघि नेपाली काँग्रेस र नेकपाले मुख्यमन्त्री कंडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस र नेकपा मिलेर गत बिहीबार दर्ता गरेको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ ।
४० सदस्यीय प्रदेश सभामा काँग्रेस र नेकपाका १४-१४ सांसद छन् भने एमालेका १० तथा राप्रपा र स्वतन्त्र एक एक सांसद छन् ।









