• २०८३ श्रावण २२ शुक्रबार

बैंककमा एक महिनासम्म नेपाली कला तथा हस्तकला प्रदर्शनी

बैंककमा एक महिनासम्म नेपाली कला तथा हस्तकला प्रदर्शनी

काठमाडौँ । नेपाली कला तथा हस्तकलाको प्रवर्द्धन गर्दै नेपाली हस्तकलाका सामग्रीको निर्यात बढाउने उद्देश्यले थाइल्यान्डको राजधानी बैंककमा नेपाली कला तथा हस्तकला प्रदर्शनी सुरु भएको छ । नेपाली राजदूतावास, बैंककको आयोजनामा सुरु भएको प्रदर्शनी ३० अगस्ट २०२६ सम्म सञ्चालन हुनेछ ।

‘बाघ र तोर्मा : नेपालको कालजयी कथा’ शीर्षकमा आयोजना गरिएको प्रदर्शनीमा नेपालको बौद्ध दर्शन, कला, संस्कृति र परम्परा झल्काउने मौलिक हस्तकला, प्राकृतिक कच्चा पदार्थमा आधारित उत्पादन तथा समकालीन कलात्मक सिर्जना प्रस्तुत गरिएको छ ।

प्रदर्शनीमा अल्लो, भाङ, कपास, ढाका र ऊनलगायत नेपाली स्थानीय कच्चा पदार्थ प्रयोग गरी थाइल्यान्डका शाही कलाकार सकुन इन्ताकुलको डिजाइनमा नेपालका विभिन्न घरेलु उद्योगसँग आबद्ध दक्ष शिल्पीहरूले तयार पारेका कलाकृति राखिएका छन् ।

त्यसैगरी, डोल्पाका कलाकार तेन्जिन नोर्बु, ढाका कपडाका शिल्पी चुनु बास्तोला, कुम्बेश्वर प्राविधिक विद्यालय तथा नेपालका दक्ष गलैँचा उत्पादकहरूले तयार पारेका गलैँचा, चित्रकला, पुष्पकला र अन्य सांस्कृतिक कलाकृति पनि प्रदर्शनीमा समावेश छन् ।

प्रदर्शनीको शीर्षकमा रहेको बाघ र तोर्मा हिमाली बौद्ध संस्कृतिका महत्वपूर्ण प्रतीक हुन्। बाघले मानवभित्र रहेको साहस, शक्ति, निर्भीकता र क्षमतालाई साधना तथा प्रशिक्षणमार्फत प्रज्ञामा रूपान्तरण गर्ने शक्तिको प्रतिनिधित्व गर्छ । तोर्माले उदारता, त्याग, अनासक्ति, शुद्धीकरण तथा सम्पूर्ण प्राणीप्रतिको करुणाभावलाई अभिव्यक्त गर्छ ।

प्रदर्शनीमा आगन्तुकले चार फरक कलात्मक अनुभूतिमार्फत नेपालको हिमाली कला, संस्कृति र आध्यात्मिक परम्पराको अवलोकन गर्न सक्नेछन् । तोर्माबाट प्रेरित समकालीन हिमाली गलैँचा तथा चित्रकला, हिमाली कला र संस्कृतिसँग सम्बन्धित सामग्री, अल्लो तथा भाङका रेसाबाट निर्मित पुष्पमूर्तिकला र हातले बुनेका ढाका कपडाबाट तयार पारिएका बाघका कलाकृति प्रदर्शनीका प्रमुख आकर्षण रहेका छन् । बाघ र तोर्माका प्रतीकमार्फत प्रज्ञा, करुणा तथा प्रकृतिसँगको सन्तुलित सहअस्तित्वलाई कलात्मक रूपमा प्रस्तुत गरिएका सिर्जनाहरू पनि प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीको उद्घाटन समारोहमा विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि, थाइल्यान्ड सरकारका उच्च अधिकारी, व्यवसायी, प्राज्ञिक संस्था तथा निजी क्षेत्रका प्रतिनिधि, कला तथा संस्कृतिसँग सम्बन्धित व्यक्तित्व, गैरआवासीय नेपाली संघ, थाई–नेपाल मैत्री संघ, थाई नेपाली संघका प्रतिनिधि, थाइल्यान्डमा बसोबास गर्ने नेपाली समुदाय, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो । नेपालको कला र संस्कृतिसँगै नेपाली खानाको समेत प्रवर्द्धन गर्ने उद्देश्यले उद्घाटन कार्यक्रममा सहभागीलाई विभिन्न नेपाली परिकारसमेत उपलब्ध गराइएको थियो । बैंककस्थित रिभर सिटीमा सञ्चालन भइरहेको प्रदर्शनी ३० अगस्ट २०२६ सम्म जारी रहनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै