काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
ललितपुर जिल्ला अदालतले बुधबार उनीहरूलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
खेल मिलेमतो, आर्थिक अनियमितता तथा ठगीसम्बन्धी आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो । यसअघि कोषाध्यक्ष जोशी १५ लाख र लेखापाल पाण्डे १२ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।
एन्फाभित्रको विवादसँगै नेपाली फुटबलमा संकट थपिएको छ । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०२६ जुन २४ देखि एन्फालाई निलम्बनमा राखेको छ । निलम्बनका कारण नेपाली राष्ट्रिय टोली र क्लबहरूको अन्तर्राष्ट्रिय सहभागितामा असर परेको छ ।
यसैबीच, एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा कार्यसमितिका बहुमत सदस्यले बैठक बोलाउने तयारी गरेका छन् । उनीहरूले कात्तिक १३ गते बैठक गरी एन्फाको आन्तरिक विवाद समाधान र फिफाको निलम्बन फुकुवाका लागि आवश्यक पहल गर्ने बताएका छन् ।









