• २०८१ बैशाख १७ सोमबार

प्रदेश सरकारको बिदा कार्यान्वयन नभएपछि मन्त्री धर्नामा बसे 

kharibot

जनकपुरधाम।  प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादब जनकपुरस्थित नेपाल राष्ट्र बैंकको मूल गेट अगाडि धर्नामा बसेका छन् । प्रदेश सरकारले दिएको सार्वजनिक बिदा नमानेको भन्दै मन्त्री यादवले आइतवार अपरान्ह १ बजेदेखि राष्ट्र बैंकको मूलगेटमा धर्ना दिएका हुन् । 

विहीवार बसेको प्रदेश २ को मन्त्रिपरिषदको बैठकले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । बैठकले निर्णय कार्यान्वयण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उच्च अदालत जनकपुर, जिल्ला प्रशासन कार्यालयहरु, जिल्ला समन्वय समितिको कार्यालयहरु, प्रदेश प्रहरी कार्यालय र नेपाल राष्ट्र बैंक शाखा जनकपुरलाई पत्र नै पठाएको थियो । 

तर पनि अटेर गरी कार्यालय सञ्चालन गरेपछि मन्त्री यादव आफैं जनकपुरका निजी तथा सरकारी कार्यालय बन्द गराउँदै बैंक पुग्दा विवाद भएको हो । 

विद्यापति चौकमा रहेको बैंक पुगेलगत्तै मन्त्री यादवसँग रहेका संघीय समाजवादी फोरमका दर्जन बढी कार्यकर्ताले एकाएक बैंकमा तोडफोडको प्रयास गरे । तोडफोड गर्न लाग्दा फोरमका १२ कार्यकर्तालाई प्रहरीले पक्राउ परेपछि मन्त्री यादव अन्य कार्यकर्तासँगै बैंकको मुलगेटमै धर्नामा बसे । 

धर्ना बसेका मन्त्री यादवले विदा कार्यन्वयन गरी राष्ट्र बैंक बन्द गर्नुपर्ने र पक्राउ परेकालाई रिहा गर्नुपर्ने दुई बुँदे माँग राखे । धनुषाका प्रहरी उपरीक्षक तथा एसपी गोविन्द थपलियाले पक्राउ परेकालाई तत्कालै रिहा गर्ने प्रतिवद्धता जनाए । 

उनी अर्को मागका लागि राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्य समक्ष पुगे । तर प्रबन्धक शाक्यले भने बैंक बन्द गर्न अस्वीकार गरेका थिए । धनुषाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र र नेपाल प्रहरीका उपरिक्षकहरु प्रबन्धक शाक्य कहाँ मध्यस्थताका लागि पुगेर मन्त्रीको धर्नाबारे छलफल गरेका थिए । 

प्रजिअ लामिछानेले संघीय र प्रदेश सरकारबीच समन्वय नहुँदा राष्ट्र सेवक कर्मचारी अन्योलमा परेको बताए । उनले मन्त्री यादबलाई संघीय सरकारसँग समन्वय गर्न आग्रह गर्दै धर्नास्थलबाट कार्यालय फर्किएका छन् । मन्त्री यादवले भने प्रदेश सरकारले संविधान बमोजिम बनाएको कानून कार्यन्वयन गरी संघीयताको सम्मान गर्न आग्रह गरेका छन् । 

मन्त्रालयबाट पैदल निस्केका मन्त्री यादबले जनकपुरको भानुचौकमा खुल्ला रहेको नीजि बैंकहरु बन्द गराएका थिए । कृषि विकास बैंकमा तालाबन्दी नै गरेका थिए । 

यसअघि पनि मन्त्री यादबले भदौं १४ गते रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले दिएको विदा नमानेपछि बैंकमा तालाबन्दी गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै