• २०८१ बैशाख १७ सोमबार

एएफसी यु–१६ फुटबल महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा, यस्तो छ खेल तालिका 

kharibot

काठमाडौँ। नेपालमा आयोजना हुने एएफसी १६ वर्षमुनि (यु–१६) महिला फुटबल च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । यही असोज ३ गतेदेखि शुरु हुने समूह चरणका खेलहरुको सम्पूर्ण तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलन एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । 

विभिन्न छ समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताअन्तर्गत समूह ‘इ’ को खेल नेपालमा हुन लागेको हो । उक्त प्रतियोगितामा सहभागी हुन सबै टोली नेपाल आइपुगिसकेका छन् । प्रतियोगिताअन्तर्गत नेपाल समूह ‘इ’ मा छ । नेपालको समूहमा फिलिपिन्स, म्यानमार र मलेसिया छन् । नेपालले आफ्नो पहिलो खेल यही असोज ३ गते फिलिपिन्ससंँग खेल्नेछ । 

त्यसैगरी नेपालले दोस्रो खेल ५ गते म्यान्मारसँग तथा छनोटको अन्तिम खेल ७ गते मलेसियासंँग खेल्नेछ । समूहको विजेता टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् । 

यस्तै छनोटमा सहभागी छ समूहको उपबिजेतामध्ये उत्कृष्ट दुई टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् । दोस्रो चरणको छनोटमा शीर्ष स्थान हासिल गर्ने चार टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको लागि छनोट हुनेछन् । 

उक्त प्रतियोगिताको लागि आयोजक थाइल्याण्डसहित, दक्षिण कोरिया, जापान र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भइसकेका छन् । नेपाली टोलीको गोलकिपरमा साबित्री किसान, पूजा थापा, करिना धिमाल छन् । 

त्यस्तै, डिफेन्समा सजना ठोकर, खुस्मा राई, पुष्पा गुरुङ, सविना चौधरी, भावना थापा, सुरक्षा सिंह, र मनमाया परियार छन् । मिडफिल्डमा प्रिति राई, मुना मगर, सुरक्षा सुखरीया, रजनी रानामगर, सबिता रानामगर, सुष्मा तामाङ, मनिका घर्तीमगर, अस्मिता चौधरी र मनिषा विष्ट छन् । 

फरवार्डमा श्रीषा कार्की, मन्दिरा राई, चन्द्रिका भण्डारी र निकिता ठोकर छन् भने टोलीको मुख्य प्रशिक्षकमा गङ्गा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षकमा बिनोद महर्जन छन् । उक्त छनोट चरणको सबै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुनेछ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै