• २०८१ बैशाख १७ सोमबार

नयाँ जनशक्ति उत्पादन गर्न महानगरले थाल्यो ‘करिअर क्याम्प’ 

kharibot

काठमाडौं । काठमाडौँ महानरपालिकाको सहरी योजना आयोगले नयाँ  विद्यार्थी जनशक्तिलाई व्यावहारिक कार्यकुशलताको लागि अवसर प्रदान गर्ने भएको छ । महानगरले वर्षमा दुईवटा करिअर क्याम्प सञ्चालन गर्नलागेको हो । 

भर्खर स्नातक पास भएका सिभिल इन्जिनियर, आर्किटेक र अर्बान प्लानर गरेर तीन संकायमा १६ जना विद्यार्थीहरुलाई उक्त अवसर दिइनेछ । उनीहरुलाई निष्पक्ष रुपमा छनोट गरी एक सेसनको लागि छ महिनासम्म प्रशिक्षार्थीको रुपमा लिइने महानगरले जनाएको छ । 

वर्षमा दुईवटा क्याम्प सञ्चालन गरिने छन् भने पहिलो सेसन  साउन १ गतेबाट सुरु भइसकेको महानगरको भनाइ छ । पुस मसान्तबाट पहिलो सेसन समाप्त भई दोस्रो सेसन माघ १ देखि असार मसान्तसम्म हुनेछ । 

करिअर क्याम्प कार्र्यविधि २०७५ बनाएर प्रशिक्षार्थी छनोट गरिएको महानगरले जनाएको छ । खरीबोटसँग कुरा गर्दै काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका प्रशासन प्रमुख सुशील  सुवेदीले करियर क्याम्पमा विद्यार्थीहरुको क्षमता विकाससँगै उनीहरुलाई आवश्यक पर्ने सैद्धान्तिक र व्यावहारिक दुवै पक्षको ज्ञान दिने जानकारी दिए । यसका लागि एक सेसनमा सय कक्षा सञ्चालन गरिने उनको भनाइ छ । 

करियर क्याम्पमा सञ्चालन गरिने कक्षामा सम्बन्धित विषयका विज्ञहरुले समेत प्रशिक्षण दिनेछन् । सय कक्षामा दैनिक तीन घण्टा कक्षा सञ्चालन गर्ने र १० देखि ५ बजेसम्म विद्यार्थीहरुले काम गर्नुपर्नेछ । जुन कामहरु महानगरले पहिचान गरेका वडाहरुका मझौला तथा साना योजना तथा परियोजनाका हुने सुवेदीले जानकारी दिए । 

१६ विद्यार्थीहरुको ५ वटा समूह बनाइ एक गु्रपमा सबै सिभिल इन्जिनियर, आर्किटेक  र अर्बान प्लानर सबैको संयोजन गरेर समूह बनाइन्छ । महानगरले निर्देशित गरेका ठाउँमा स्थलगत अध्ययन, अनुसन्धान गरी योजना बनाउँछन्  । उनीहरुको त्यो योजनालाई माथिल्लो स्तरका इन्जिनियरहरुले मनिटरिङ गर्नेछन् र सुझाव दिने गरिन्छ  । तर उनीहरुले पनि नसकेको अवस्थामा अझ माथिल्लो लेभलबाट सुझाव दिइनेछ । 

सदस्य, सहायक विज्ञ र एन्टर्नर विद्यार्थीहरुको सहयोगमा प्रोजेक्ट बैँक बनाउन समेत लागेको सुवेदीले जानकारी दिए । साउनबाट सुरु गरीएको कक्षाबाट साना तथा मझौला गरेर  ८ वटा गुरुयोजना निस्केको समेत सुवेदीले जानकारी दिए ।

जसमध्ये कमलपोखरीलाई व्यवस्थित र आधुनिक तरिकामा निर्माण  गर्न लागिएको छ । त्यस्तै २१ वडामा रहेको शिलखाना पार्क, ११ वडाको चेसपार्कलगायतका विभिन्न पार्कको साथमा सामुदायिक भवन,  मन्दिर , सार्वजनिक शौचालयलगायतका न्यूनतम ३५ वटा प्रोजेक्टको डीपीआर पहिलो सेसनको छ महिनामा बनाउने लक्ष्य रहेको सुवेदीको भनाइ छ । 
यसरी तयारी पारिएका गुरुयोजनाहरु तत्काल कार्यन्वयनमा जाने समेत उनले जानकारी दिए ।

महानगरको  ६६ लाख ४० हजारको प्रोजेक्टमा ३३ लाख २० हजार एउटा क्याम्पको लागि छुट्याइएको छ । जहाँ ३३ लाखबाट कुनै एउटा प्रोजेक्ट गर्दा ५ लाखबराबर लाग्ने ३५ वटा प्रोजेक्ट गर्न लागेको समेत उनले बताए । छ महिनाको क्याम्प समाप्त भएपश्चात् विद्यार्थीहरुलाई प्रमाणपत्रसहित अवार्ड प्रदान गर्नुको साथै छ महिनासम्म मासिक १५ हजार समेत प्रदान गरिनेछ । विद्यार्थीहरुले प्रशासन,  कानुन, सार्वजनिक प्रशासन, स्थानीय विकास प्रोजेक्ट व्यवस्थापन, योजनालगायतका विषयमा पूर्ण जानकारी प्राप्त गर्ने र यसको उद्देश्य प्रोजेक्ट बैंक बनाउने रहेको उनको भनाइ थियो  ।

रोजगारी सिर्जना होस्, देशमै बस्ने खालको वातावरण सिर्जना गर्नु, विकासका प्रोजेक्ट देखाउनु, युवाहरुबाटै विकासप्रति योगदान दिनसक्ने क्षेत्र पहिचान गर्नु र महानगरको विकासमा युवाको सहभागिता कायम गराउनु यसको लक्ष्य रहेको सुवेदीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै