• २०८१ बैशाख १७ सोमबार

इन्डोनेसियाको भूकम्प र सुनामीबाट बेपत्ता हुने अझै पाँच हजार

kharibot

पालु, इन्डोनेसिया। इन्डोनेसियाको पालुमा अघिल्लो साता आएको भूकम्प र सुनामीबाट हराइरहेका मानिसको संख्या पाँच हजारसम्म पुग्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् । 

इन्डोनेसियाको प्रकोप नियन्त्रण संस्थाका अनुसार भूकम्प र सुनामीका कारण हालसम्म मृत्यु भएका एक हजार ७६३ जनाको शव भेटिएको छ । गत सेप्टेम्बर २८ मा सुलावेशी टापुलाई लक्षित गरी ७.५ म्याग्नीच्यूडको भूकम्प जानुका साथै पालुमा सुनामीले व्यापक जनधनको क्षति गरेको थियो । 

सुनामीले सबैभन्दा ठूलो क्षति गरेको पालु शहरका पेटोबो र बालारोआ इलाकामा अझै पनि हजारौं हराइरहेका छन् । यी दुई इलाकाका घरहरु पूर्णरुपमा ध्वस्त भएको प्रकोप नियन्त्रण संस्थाले जनाएको छ । 

“बालारोआ र पेटोबो इलाकाका प्रमुखहरुको सूचना अनुसार त्यहाँ अझै पाँच हजार हराइरहेका छन्,” संस्थाका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले संवाददाताहरुलाई बताए । “तैपनि अधिकारीहरुले यो तथ्याँक सत्य रहे नरहेको अनुसन्धान गरिरहेका छन् । पहिरो र माटोमा पुरिएका मानिसको यथार्थ संख्या पत्ता लगाउनु त्यति सहज छैन ।” 

नुग्रोहोले आगामी अक्टोबर ११ सम्म खोज कार्यलाई निरन्तरता दिइने बताए । त्यसपछि बेपत्ता भएका वा मृत्यु भएका नागरिकको सूचीमा राखिने अधिकारीहरुको तयारी छ । 

दश दिनअघिको यस विनाशकारी विपदपछि हरेक दिन मृत्यु भएका, घाइते भएका र बेपत्ताको संख्या बढ्दै गएको छ । अधिकारीहरुले प्रारम्भमा पालु शहरमा झण्डै एक हजार मानिस पुरिएको अनुमान गरेका थिए । 

पालु शहरको पेटोबो इलाका भूकम्प र सुनामीका कारण लगभग विलुप्त भएको छ । भूकम्पका कारण जमिन लेदो माटोमा रुपान्तरण भएको छ भने घरहरु सुनामीले सबै ढालेको छ । भत्किएका घरहरुमा कति मानिस च्यापिएका छन् भन्ने अझै पत्तो छैन । 

बालारोआमा पनि इन्डोनेसियाली उद्धारकर्ताहरुले मृतकहरुको खोजतलास अझै जारी राखेका छन् । यहाँ जीवित व्यक्ति भेटिने सम्भावना कमै भएपछि सरकारले मानिसको खोजी गर्नुको साटो सिंगै बस्तीलाई “चिहान” का रुपमा घोषणा गर्ने तयारी गरेको छ । 

“आज दश दिन भयो । अझै कोही जीवित भेटिनु भनेको चमत्कार मात्र हो,” इन्डोनेसियाका खोज तथा उद्धार संस्थाका प्रमुख मुहम्मद स्याउजीले बताए । 

अधिकारीहरुलाई अहिले बाँचेका व्यक्तिसम्म राहत पु¥याउन नै धौधौ परेको छ । हाल ८२ हजारभन्दा बढी सैनिक तथा प्रहरीका साथै स्वयंसेवीहरुले उद्धार र राहतका कार्यहरु गरिरहेका छन् । इन्डोनेसियाली सैनिक हेलिकप्टरले दुर्गम क्षेत्रहरुसम्म खाद्यान्न र अन्य आपतकालीन सामग्री लैजाँदै छन् । 

“स्थानीयबासी ठूलो समस्यामा छन् किनभने सडक अबरुद्ध भएको छ र यहाँ हवाई सेवामात्र उपलब्ध हुन सक्दछ,” उपसेनानी रेइनाल्डो आप्रीले बताए । 

अस्ट्रेलिया र संयुक्तराज्य अमेरिकाबाट हर्कुलस हवाईजहाज मार्फत राहत यहाँ आइरहेको छ । सेभ द चिल्ड्रेन र अन्य निकायहरुबाट दक्षिण अफ्रिकी चिकित्सा टोली यहाँ आइपुगेको छ । 

इन्डोनेसियाली रेडक्रसले गोदामघर निर्माण गर्नुका साथै अत्यावश्यक सामग्री वितरण गरिरहेको छ । तर यहाँ राहतकर्मीले ठूलो समस्या झेल्नु परिरहेको छ किनभने पालु र अन्यत्र ठूलो क्षेत्रमा मानिसहरु छरिएर बसेका छन् । 

“म टेन्ट चाहिएको कुरा लिएर यहाँ आएको हुँ, किनभने हाम्रो गाउँका ९५ प्रतिशत घरहरु क्षतिग्रस्त भएका छन्,” लिड्डुबाट आएका सिमसम मुजुले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै