• २०८१ बैशाख १८ मंगलबार

संसदमा किन चाहियो बामदेव ?

kharibot

काठमाडौँ।  नेपाली राजनीतिमा धेरै जसो समय नहुनु पर्ने घटना क्रमहरु हुने गरेको पाइन्छ। सामने जनताको आशा र अपेक्षा विपरितका घटनाक्रमले राजनीतिक नेतृत्व आलोचित र विवादमा आउने गर्दछ। लामो समयको रस्साकस्सीपछि भएको निर्वाचन र त्यसबाट बनेको दुई तिहाईको सरकार पनि अब आपसी खिचातानी र स्वार्थको शिकार बन्ने संकेत पछिल्ला घटनाक्रमले देखाएको छ।

विपरित ध्रुवका दल तत्कालिन एमाले र माओवादीको एकीकरणपछि दशकौ देशमा शासन गर्ने माहोल बनेको अवस्थामा अहिले सरकार बनेको ७ महिना पछि नै धरापमा पर्ने अवस्था आएको छ। नेकपाका वरिष्ठ नेता बामदेव गौतमलाई प्रतिनिधि सभामा ल्याउने कसरत यसैको एउटा कडीको रुपमा राजनीतिक वृतमा लिइएको छ। मंगलबार काठमाडौँ क्षेत्र नम्बर ७ का निर्वाचित संसद राम्बीर मानन्धरले बामदेवलाई प्रतिनिधि सभामा पठाउन आफुले राजीनामा दिएको घोषणा गरेपछि अब नेपालको राजनीति फेरी अस्थिर हुने संकेत देखिएको छ।  यसको प्रमुख जिम्मेवार सत्तारुढ दलभित्रको आन्तरिक द्वन्द नै प्रमुख कारण बन्ने देखिएको हो । सामाजिक संजाल र आम जनताले यस घटनाक्रमलाई आलोचना गरेपनि आखिर संसदमा बामदेव किन चाहियो त भन्ने प्रश्न अहिले सबैले गरेका छन्। आन्तरिक द्वन्द मिलाउन या त्रिकोणीय द्वन्द रहेको नेकपाको अहिलेको अवस्थालाई चिर्न। के बामदेवसँग अहिलेको पार्टी विवाद मिलाउन सक्ने संजीवनी बुटी छ त ? 

नेकपाका नेताहरुको अहिले विवाद पछिल्ला केहि घटनाक्रमको परिणाम हो भनेर सजिलै भन्न सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली गत फागुन ३ गते प्रधामन्त्रीमा नियुक्त हुनासाथ महिना दिन भित्र नै भारत भ्रमणमा पुगे त्यसपछि चीन भ्रमण पनि सम्पन्न गरे । पार्टी अध्यक्ष समेत रहेका ओलीको भारत र चीनको भ्रमण पछि अर्का अध्यक्ष प्रचण्डले भारत र चीनको भ्रमण गरे।  प्रचण्डको यो भ्रमणलाई निकै अर्थपूर्ण रुपमा लिइएको थियो र अहिले पनि छ । धेरै हद सम्म प्रचण्डको सोहि भ्रमणको परिणाम अहिले नेकपामा देखिन थालेको पनि छ। नेकपाका शिर्ष नेताहरुको विदेश भ्रमण यति भयो की अघिल्लो महिना एकै पटक ४-५ जना नेता चीनमा र एक दर्जनभन्दा बढी नेता विदेशमा थिए। त्यसपछि प्रचण्ड पत्नीको उपचार गर्न भन्दै सिंगापुर समेत पुगे। यसैबीच दुवै अध्यक्ष विदेश भएको बेला वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा सरकारविरुद्ध कडा टिप्पणी गरे। उनले गीतको लयमा देश बनाउने माझि दाइ कहिले औला भन्दै सरकारको आलोचना मात्र गरेनन्, जनमत अनुसार डेलिभरी दिन नसकेको कुरा प्रष्टसँग राख्दै आफ्नै सरकारविरुद्ध धावा बोले।  त्यसको केहि दिनमा नै नेता नेपालले स्थायी समिति सदस्यको भेला गरेर पार्टी नेतृत्वको कडा आलोचना गरे।  यो घटनाले नेकपा भित्र एउटा तरंग सिर्जना गरिदियो। सिंगापुरमा रहेका प्रचण्डले फोन गरेर नेता नेपाललाई थामथुम गर्ने प्रयास गरे भने प्रधानमन्त्री ओली अमेरिकाबाट फर्किदै संसदमा नेता नेपालले गरेको भाषणको आलोचना गरे।

पृष्ठभूमिका यी घटनाक्रमको नतिजा अहिले आएर बामदेवलाई संसदमा ल्याउने तयारी र राम्बीरको राजीनामा सम्म आएको छ। यो अचानक भएको वा कोहि अमुर्त व्यक्तिले गरेको निर्णय हुदै होइन।  यो प्रधानमन्त्री ओली, प्रचण्डकै निर्णय हो भन्न सकिन्छ । तर बामदेव किन आउनु पर्यो भन्ने प्रश्न भने जटिल नै छ। अहिलेको सरकार विस्तारै असफलता तिर जान लागेपछि सरकारको विकल्प खोज्ने कडी बामदेव हुन् या यसै सरकारलाई रेस्क्यु गर्न बामदेव चाहिएका हुन्, यो त समयले बताउला तर ओली, प्रचण्ड र नेपालले बामदेवलाई सांसद बनाएर आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोज्ने भने निश्चित रुपमा देखिन्छ। 

प्रचण्डको धेरै जसो राजनीतिक क्यारियरमा अस्थिरता देखिन्छ उनको भाषामा उनले छालाङ मारेको र साहसिक निर्णय गर्ने गरेको भन्ने गरेता पनि उनको अस्थिरताको मुल्य देशले धेरै पटक चुकाउनु परेको छ। र अहिले आएर प्रचन को अस्थिरताको शिकार सिंगो मुलुक र प्रधानमन्त्री ओली बन्ने संकेत देखिएको छ। बामदेवलाई साथमा लिएर प्रचण्ड ओलीलाई सत्ता र पार्टीबाट विस्थापित गर्ने कडीको रुपमा पनि यस घटनालाई लिइएको छ। भने अर्को तिर प्रचण्डको ओलीविरुद्धको राष्ट्रिय र अन्तर्राष्ट्रिय लविङलाई थेग्न अहिले प्रधानमन्त्री ओलीलाई हम्मे हम्मे नै परेको छ। उनको समुहमा यस प्रेसरलाई थेग्न सक्ने नेता अहिले देखिएको छैन। यसका लागि ओलीलाई बामदेवको साथ अपरिहार्य जस्तै हो। त्यस्तै वरिष्ठ नेता नेपाल पनि दुई अध्यक्षको शक्ति संघर्षमा फाइदा लिने मुडमा रहेका छन्।  पार्टीमा अहिले पनि बलियो रहेका नेपालले बामदेवको साथ् पाए पार्टी अध्यक्ष या प्रधानमन्त्री नै हुने सपना देखिरहेका छन्। 

यस्तो मा बामदेवले के गर्लान भन्ने प्रश्न स्वाभाविक रुपमा उठिरहेको छ। बामदेव नेपाली राजनीतिमा एउटा प्रवृति र बलियो नाम हो। उनको उपस्थितिले पार्टी र सरकारलाई उर्जा नै प्रदान गर्ने गर्दछ तर समस्यै समस्यामा अल्झी सकेको सरकार र बेमेलको तालमेल गरेर आधा एकीकरण भएको नेकपाले बामदेवलाई सांसद बनाएर पार पाउन सक्ला ? या बामदेव अझै पनि ओली, प्रचण्ड या नेपालकै पुच्छर बन्लान् या आफै प्रधानमन्त्री बन्लान ! यो घटनाक्रम निश्चित राजनीतिक मिशनका लागि भएकोले यसका पाटाहरु विस्तारै खुल्दै जालान तर साचो कुरा के हो भने विकास र समृद्धिको सपना देखेका आम नेपाली जनताले दुइतिहाई मत दिदा पनि देशको राजनीति फेरी अस्थिर हुने खतराको संकेत पाउदा निराश भने अवश्य भएका छन्।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै