• २०८१ बैशाख १७ सोमबार

गल्छी–रसुवागढी’ सडकको डिपिआर फेरी गर्नुपर्ने

kharibot

बेत्रावती। राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तर्गत मैलुङ–स्याफ्रुबेसी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) फेरी तयार गर्नुपर्ने भएको छ । 

नेपाली सेनाले ट्रयाक खोल्ने काम गत चैत ३० मा पूरा गरी जेठ ६ गते हस्तान्तरण गरेपछि तयार गरेको डिपिआर प्रतिवेदन बर्खाका समयमा पहिरोले क्षति पु¥याएपछि त्यसको पुनः विवरण सङ्कलन गर्नुपर्ने भएको आयोजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए । 

उनका अनुसार बर्खा अघि नै डिपिआर तयार गरी विश्लेषण पश्चात ठेक्काका तयारीमा रहेको सडकको हाल दर्जनभन्दा बढी स्थानमा पहिरोले क्षति पु¥याएको छ । “तिहारपछि फेरी शुरु गरिने डिपिआरमा पहिरोले क्षति पुगेको स्थानको मात्र लगत सङ्कलन गरिने छ ।” आयोजना प्रमुख देवकोटाले भन्नुभयो, “त्यसको लागि दुई साताभित्र सक्ने लक्ष्य बनाइएको छ ।” 

नेपाली सेनाले विसं २०७२ वैशाख १ देखि शुरु गरेको उक्त सडकखण्ड तीन वर्ष लगाएर पूरा गरेको हो । १८ किमि दूरीको सडकको अधिकांश स्थानमा दुई लेन हुने गरी चट्टान फोरेर ट्रयाक खोलिएको छ । 

‘गल्छी–रसुवागढी’ सडकको पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको बेत्रावती–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्धारसम्म पुग्न सबैभन्दा छोटो दूरीको रुपमा यो सडकखण्डलाई लिइन्छ । यो सडकको दूरी गल्छीदेखि रसुवागढीसम्म ८२ किमि पर्दछ । 

यो सडक अन्तरगत बेत्रावतीबाट स्याफ्रुबेसी पुग्न मैलुङहुँदै जादाँ धुञ्चेबाटभन्दा २४ किमि दूरी कम पर्दछ । आयोजना प्रमुख देवकोटाकाअनुसार पासाङल्हामु राजमार्गको बेत्रावतीबाट कालिकास्थान धुन्चेहुँदै स्याफ्रुबेशीपुग्न ५३ किमी पर्छ भने बेत्रावतीबाट मैलुङहुँदै स्याफ्रुबेसी पुग्न २९ किमि दूरी मात्र पर्दछ । सडक विस्तार अन्तरगत आयोजनाका समग्र काम हाल ३० प्रतिशत पूरा भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै