• २०८१ बैशाख १७ सोमबार

कर्णालीमा जनप्रतिनिधिको सेवासुविधामा बार्षिक ४५ करोड खर्च

kharibot

सुर्खेत। कर्णाली प्रदेशको सरकार गठन भएको नौ महीनापछि मुख्यमन्त्री, पदाधिकारी तथा सांसदको सेवासुविधासम्बन्धी विधेयक कर्णाली प्रदेशसभादेखि आज पारित भएको छ । यो विधेयक पारित भएसँगै प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, सांसदलगायतका पदाधिकारीलाई सेवा सुविधा लिने बाटो खुल्नेछ । 

प्रदेशसभाले आइतबार पारित गरेलगत्तै कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले विधेयक प्रमाणीकरण गर्नुहुनेछ । प्रमाणीकरणपछि विधेयक ऐनका रुपमा लागू हुनेछ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले गत बुधबार सभासमक्ष पेश गरेको विधेयकमा मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, सांसदलगायत पदाधिकारीलाई सेवा सुविधासम्बन्धी व्यवस्था गरिएको छ । 

विधेयकमा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, प्रदेशसभाका सभामुख, उपसभामुख, विपक्षी दलको नेता, समितिका अध्यक्ष, प्रमुख सचेतक, सचेतक, सांसदहरुको पारिश्रमिक तथा सेवासुविधा तोकिएको छ । सांसदलाई नायब सुब्बासरहको स्वकीय सचिव नियुक्त गर्न विधेयकमा व्यवस्था गरिएको छ । 

सांसदहरुले पिए सुविधाकै विषयलाई लिएर आपत्ति जनाएपछि विधेयक रोकिएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्रीले मासिक पारिश्रमिकबापत रु ६० हजार ९७० मन्त्रीले रु ५२ हजार, राज्यमन्त्रीले रु ४९ हजार र सहायक मन्त्रीले रु ४७ हजार पारिश्रमिक पाउने व्यवस्था गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिईन् । 

मन्त्री केसीका अनुसार फर्निचरबापत वार्षिकरुपमा मुख्यमन्त्रीलाई रु एक लाख २५ हजार, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीलाई रु एक÷एक लाख उपलब्ध गराइनेछ । मुख्यमन्त्रीले मासिकरुपमा २५० लिटर सवारी इन्धन पाउने छन् । मन्त्रीले २००, राज्यमन्त्रीले १५० र सहायक मन्त्रीले १२५ लिटर इन्धन पाउने मन्त्री केसीले बताईन । उनका अनुसार मुख्यमन्त्री र मन्त्रीका लागि सञ्चार सुविधा पनि उपलब्ध गराएको छ । 

मुख्यमन्त्रीले मासिकरुपमा सात हजार, मन्त्रीले पाँच हजार, राज्यमन्त्री र सहायक मन्त्रीले मासिक रु तीन÷तीन हजार सञ्चारबापत खर्च पाउने छन् । अतिथि सत्कारमा मुख्यमन्त्रीले मासिकरुपमा रु १५ हजार, मन्त्री र राज्यमन्त्रीले रु १०÷१० हजार तथा सहायक मन्त्रीले रु आठ हजार पाउने व्यवस्था छ । 

तीन वर्षमा एकपटक पाउने गरी लुगाभत्ताको व्यवस्था छ । मुख्यमन्त्रीले रु १५ हजार, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीलाई रु १२÷१२ हजार लुगाभत्ता पाउने छन् । विधेयकमा मुख्यमन्त्रीले आश्वयकता तथा विभागीय मन्त्रीले मन्त्रिपरिषद्को निर्णयबमोजिम एक जना विषयगत सल्लाहकार राख्न पाउने व्यवस्था विधेयकले गरेको छ । 

कर्णाली प्रदेशसभाका सभामुखको पारिश्रमिक मासिक रु ५३ हजार तोकिएको छ । विपक्षी दलका नेता र उपसभामुखका रु ५० हजार, दलका प्रमुख सचेतक, समितिका अध्यक्ष, दलका सचेतकका लागि रु ४८ हजार र प्रदेशसभा सदस्यका लागि रु ४५ हजार पारिश्रमिक प्रस्ताव छ । सभामुखदेखि प्रदेशसभा सदस्यसम्मलाई बैठक भत्ता, सञ्चार सुविधा, आवास सुविधा, फर्निचर, दैनिक भ्रमण भत्ता र यात्रा बीमा निर्धारण गरिएको छ । 

विधेयकअनुसार सभामुख, विपक्षी दलको नेता र उपसभामुखले आवास सुविधा पाउने छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा घर भएका सांसदहरुले मर्मत सम्भारबापत ५० प्रतिशत मात्रै आवास सुविधा पाउने व्यवस्था गरिएको छ । 

विपक्षी र सत्तारुढ दलको नेता तथा उपसभामुखलाई आवास उपलब्ध नभएको खण्डमा रु २५ हजार उपलब्ध गराइनेछ । प्रदेशसभा सदस्यले बैठक बसेको दिनमा मात्र प्रतिदिन रु ५०० यातायात खर्च पाउने छन् । प्रदेशसभाका सांसदले नायब सुब्बा तहको स्वकीय सचिव राख्न पाउने विधेयकले व्यवस्था गरेको छ । 

कर्णाली सरकारले यसअघि स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक पारित गरिसकेको थियो । कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारीले पाउने सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित भएसँगै स्थानीय तहका पदाधिकारीलाई सेवा सुविधा लिन थालिसकेका छन् । ऐनअनुसार यहाँका जिल्ला समन्वय समितिका प्रमुखले मासिक रु ३६ हजार, उपप्रमुखले रु ३४ हजार तथा सदस्यले रु १२ हजारका दरले मासिक सेवासुविधा पाएका छन् । 

नगरपालिकाका प्रमुखले रु ३४ हजार, उपप्रमुखले रु ३० हजार, वडाध्यक्षले रु २० हजार, नगर कार्यपालिकाका सदस्यले रु ११ हजार तथा वडा सदस्यले रु छ हजार मासिक पारिश्रमिक पाएका छन् । गाउँपालिकाका अध्यक्षले रु ३० हजार ५००, उपाध्यक्षले रु २५ हजार, वडाध्यक्षले १९ हजार, गाउँ कार्यपालिका सदस्यले रु १० हजार र वडा सदस्यले रु पाँच हजारका दरले मासिक सेवासुविधा प्राप्त गरेका छन् । 

कर्णाली प्रदेश सरकारले तोकेको तलबमानलाई हेर्दा ५४ गाउँपालिकाका अध्यक्षलाई वार्षिक रु एक करोड ९७ लाख ६४ हजार र उपाध्यक्षको रु एक करोड ६२ लाख सेवा सुविधामा खर्चनुपर्ने हुन्छ । गाउँपालिका अन्तर्गतका ४०५ वडाध्यक्षका लागि रु नौ करोड २३ लाख ४० हजार, एक हजार ३५४ वडा सदस्यका लागि रु आठ करोड सात लाख र गाउँ कार्यपालिका ३२४ सदस्यका लागि रु तीन करोड ८८ लाख ८० हजार तलब भत्तामा खर्च हुनेछ । 

कर्णाली प्रदेशअन्तर्गत १० जिसस, २५ नगरपालिका र ५४ गाउँपालिकाका तीन हजार ७५६ जनप्रतिनिधिका लागि वार्षिक रु ४२ करोड ९० लाख ६८ हजार पारिश्रमिकबापत खर्च हुनेछ । प्रदेश सरकारका पदाधिकारी तथा सभा सदस्यको सेवा सुविधामा रु दुई करोड २३ लाख ६६ हजार र स्थानीय तहका जनप्रतिनिधिका लागि रु ४२ करोड ९० लाख ६८ हजार गरी कूल रु ४५ करोड १४ लाख ३४ हजारको व्ययभार मात्रै सेवा सुविधाका लागि खर्च हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै