• २०८१ बैशाख १७ सोमबार

इपिएल दोस्रो क्वालिफायर : फाइनलमा पुग्न काठमाडौँ र भैरहवाको भिडन्त, यी हुन् प्रमुख खेलाडी  

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज काठमाडौं किंग्स् इलेभेन र भैरहवा ग्लाडिटर्स भिड्दै छन् । 

कीर्तिपुर मैदानमा हुने यो खेल बिहान साढे एघार बजे सुरु हुनेछ । यस अघि १२:४५ मा हुने भनिए पनि आयोजकले दोस्रो क्वालिफायर खेल साढे ११ बजे हुने जानकारी दिएका छन्। 

इलिमिनेटरमा चितवन टाइगर्सलाई पराजित गरेको भैरहवा ग्लाडियटर्स र पहिलो क्वालिफायरमा ललितपुर प्याट्रीयटससँग  पराजित काठमाडौंबीच यो भिडन्त रोचक हुने अनुमान गरिएको छ। 

यसअघि लिग चरणको खेलमा काठमाडौंले भैरहवालाई सात विकेटले हराएको थियो । भैरहवाले दिएको १५० रनको लक्ष्य काठमाडौंले पाँच बल बाँकी छँदै मात्र तीन विकेट गुमाएर पूरा गरेको थियो सो खेलमा अमित श्रेष्ठले अर्धशतकीय योगदान दिएका थिए ।

काठमाडौँ किंग्स :

काठमाडौँका लागि उसका नियमित कप्तान सोमपाल कामीको कमब्याक अझै सस्पेन्स मै रहेको छ। काठमाडौँ किंग्सका लागि आयरल्याण्डका अनुभवी अलराउन्डर केभिन ओ ब्रायनको भूमिका महत्वपूर्ण रहेको छ। प्रतियोगितामा अहिलेसम्म १८४ रन बनाएका केभिनले कुल ९ विकेट समेत लिएका छन्। उनी काठमाडौँबाट धेरै रन बनाउने र धेरै विकेट लिने खेलाडी समेत हुन्।

त्यस्तै काठमाडौँका लागि भारतीय खेलाडी प्रदिप साहुको भूमिका समेत महत्वपूर्ण देखिएको छ। उनले प्रतियोगितामा अहिलेसम्म ९ विकेट लिएका छन् भने आइपिएल खेलेको अनुभव रहेका साहुले ब्याटिंग समेत राम्रो गर्न सक्ने पछिल्लो खेलमा देखाइसकेका छन्।

त्यो बाहेक काठमाडौँका लागि हाल कप्तानी गरिरहेका युएइका कप्तान रोहन मुस्तफाको भूमिका पनि महत्वपूर्ण हुने छ। बलिङ्ग र ब्याटिंगबाट उनले टिमलाई योगदान गर्न सक्ने खेलाडी हुन्। काठमाडौँका लागि यस सिजनमा ४ खेल खेलका रोहनले १०८ रन बनाएका छन् भने ४ खेलमा ५ विकेट समेत लिएका छन्। त्यस्तै काठमाडौँका लागि नेपाली खेलाडी अमित श्रेष्ठको ब्याटिंग पनि हेर्न लायक हुने छ। अमित यस सिजनमा नेपाली खेलाडीको तर्फबाट अर्धशतक बनाउने पहिलो खेलाडी हुन्। उनले अहिलेसम्म ६ खेलमा १०९ रन बनाएका छन्।

भैरहवा ग्लाडियटर्स :

भैरहवाका लागि रवि इन्दर सिंह सबै भन्दा बलियो हतियार हुन्। उनले अहिलेसम्म प्रतियोगितामा एक शतकसहित २७७ रन बनाएर धेरै रन बनाउने खेलाडीको सुचिमा अग्रस्थानमा रहेका छन्। त्यस्तै भैरहवाका लागि अर्का महत्वपूर्ण खेलाडी हुन् रायन टेन डोएसचेट। अनुभवी रायनले ६ खेलमा १२० रन बनाए पनि टिमका लागि निकै उपयोगी इनिङ्ग खेलेका छन्। त्यो बाहेक कप्तान शरद भेस्वाकरले धेरै रन बनाउन नसकेपनि उनको क्षमता भने रहेको छ। भेस्वाकरले ६ खेलमा ९९२ रन बनाएका छन्। त्यस्तै उनले ६ खेलमा ५ विकेट समेत लिएका छन्। 

त्यस्तै बलिङ्ग तर्फ भने युएईका बलर मोहमद नावीद भैरहवाका प्रमुख बलर हुन्। उनले अहिलेसम्म ४ खेलमा ८ विकेट लिएका छन् ,भने उनको औसत ५.२६ रन रहेको छ। उनी टी-२० खेलका राम्रा बलर रहेका छन्। रायनले पनि प्रतियोगितामा ६ खेलमा ६ विकेट लिएर उत्कृष्ट बलिङ्ग गरेका छन् भने कप्तान भेस्वाकरले बलिङ्गबाट पनि योगदान गरिरहेका छन्। उनले ६ खेलमा पनि ५ विकेट लिएका छन्। त्यस्तै भैरहवाका लागि अर्का बलर अभिनाश बोहोराले पनि उत्कृष्ट बलिङ्ग गरिरहेका छन्। बोहोराले ६ खेलमा ६ विकेट लिएका छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै