काठमाडौँ। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले जनस्वास्थ्य विधेयक, २०७५ जारी भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च वितरण गरेकामा विरोध जनाएका छन् ।
सो विधेयकमा विशिष्ट व्यक्तित्वले स्वदेशमा नै उपचार गर्नुपर्ने तथा मन्त्रालयले उपचार खर्च वितरणसमेत नगर्ने प्रावधान रहेको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा उनले विधेयक जारी भएपछि मन्त्रालयबाट चार करोड वितरण भइसकेको जानकारी दिँदै नयाँ ऐन ल्याउनुको के अर्थ रह्यो भन्ने प्रश्न गरेका थिए ।
पूर्वमन्त्री थापाले भने, “कुनकुन व्यक्तिले कुनकुन रोगका उपचार गर्न कति खर्च लिएका छन्, सार्वजनिक गर्नुपर्छ ।” उनले मन्त्रालयले तयार पारेको उपचार खर्च कार्यविधिलाई किन पालना गरिएन भनेर प्रश्न गरेका थिए ।
नेता थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउने प्रयास भइराखेको जानकारी दिँदै एकपटक डा गोविन्द केसीसित विधेयकका बारेमा छलफल गरिने जानकारी दिए ।