• २०८१ बैशाख १७ सोमबार

सांसद कविता बोगटी भन्छिन् : रगतमै 'कम्युनिष्ट'

kharibot

कविता बोगटी नेकपाबाट राष्ट्रियसभामा निर्वाचित कर्णाली प्रदेशकी जनप्रतिनिधि हुन् ।  नवलपरासीको बन्जरियामा वि.सं. २०२७ सालमा जन्मेकी बोगटीको प्राथमिक शिक्षा नवलपरासीबाट नै भए पनि एसएलसी भने उनले हुम्लाबाट उत्तीर्ण गरेकी हुन् ।  

अखिल नेपाल महिला संघ हुम्लाको संथापक अध्यक्ष बनेकी उनको युवावस्थाको सुरुवाती चरण पार्टीको संगठन विस्तार, कमिटीहरु निर्माण गरेर बित्यो । ०५० सालतिर शिक्षिका भएर ७ वर्ष हुम्लामा अध्यापन गरिन् । माओवादी द्वन्द्व चर्किएपछि त्यहाँ रहनसक्ने स्थिति भएन । सोही कारण उनी नर्सिङ पढ्नतिर लागिन् । सरकारी कोटामा नाम निस्किएपछि उनको त्यो चाहना पनि पूरा भयो । केही समय नर्सिङ क्षेत्रमा काम गरेपछि फेरि अध्यापनतिरै फर्किइन् । हाल नेकपाको प्रदेश कमिटीका अध्यक्ष रहेका गोरख बहादुर बोगटी उनका श्रीमान् हुन्, जो कर्णालीको हुम्लाका सबैभन्दा पहिले ब्याचलर गर्ने व्यक्ति थिए । 

रगतमै कम्युनिष्ट !

बोगटी आफ्नो रगतै कम्युनिष्ट भएको बताउँछिन् । बुवा मदन र जीवराज आश्रितसँग नजिकमा रहेर राजनीतिमा सरिक भएकोले पनि आफूलाई सहयोग गरेको दाबी गर्छिन् बोगटी । सानैदेखि छोराछोरीको विभेदको विद्रोह गर्ने स्वभावले उनलाई कम्युनिष्ट राजनीतिमा लाग्न सहज भयो । समाजका रुढीवादी मान्यताहरुप्रति बोगटी उतिबेलैदेखि सचेत रहेकोले आफूले त्यसलाई चुनौती दिएको बताउँछिन् । बोक्सीप्रथाप्रति त उनलाई विश्वासै लाग्दैनथ्यो । सोही कारण उनी गाउँमा फलानोको घरमा नजानु, फलानोले दिएको नखानु भन्ने कुरा सुनेपछि उसकै घर जाने, उसकै अगाडि खाने गर्थिन् । यसले पनि उनमा त्यतिबेलै पलाएको सामाजिक विसंगतिविरुद्धको विद्रोहचेत बुझ्न सकिन्छ । सानैदेखि कुसंस्कारको विरोधी भावना उनमा विकसित भएको थियो । फलतः समाजमा विभेद देखेर नै राजनीतिबाट प्रेरित भएको बताउँछिन् उनी । उनी भन्छिन्, ‘यस्तो समाज छ, हामीले केही गर्नुपर्छ । हामीले गरेनौं भने समाज कसरी परिर्वतन हुन्छ भन्ने लाग्छ ।’  

जीवराज आश्रित र मदन भण्डारी राजनीतिमा रहँदा उनका बुबा पनि सक्रिय राजनीतिमा थिए । नवलपरासीमा कम्युनिष्ट पार्टीको स्थापना गर्दा आफ्ना बाबु एक सिपाहीजस्तै रहेको उनी बताउँछिन् । छोरीलाई पनि पढाउनुपर्छ भनेर नै पाँचवटै छोरीहरुलाई औँलाबराबर भन्दै पढाएकोमा बोगटी सम्मान व्यक्ति गर्छिन् बुबालाई । 

उनी भन्छिन्, ‘यो पद पायौं भनेर हामी चुप लागेर बसेजस्तो देखिन्छ । प्यास लागेको मान्छेले नै पानीको खोजी गर्नुपर्छ ।’

नेपालमा कम्युनिष्ट राजनीतिमा आउन उनले चिनियाँ कम्युनिष्ट आन्दोलनका दस्तावेज, पुस्तकहरु पढिन् भने पढ्ने वातावरण राम्रो भएका घनश्याम भुसाललगायतका नेताहरुको संगतले पनि उनलाई राम्रै मद्दत मिल्यो । पार्टी विस्तारका लागि बच्चासँगै हुम्ला पुगेको सम्झना छ बोगटीको । बहुदल आइसक्दा पनि त्यहाँ निर्दलीय व्यवस्थामै रहेको अनुभूति हुन्थ्यो । काम गर्ने वातावरण थिएन । पञ्चायतलाई मान्नेहरुले ज्यान मुद्दा लगाइदिने र उनीहरुकै जगजगी रहेको अवस्थामा समेत उनले आफ्नै खर्चमा २०४९ सालमा आफ्नै संयोजकत्वमा हुम्ला महिला संघको तदर्थ समिति बनाएकी थिइन् ।  

जारी प्रथा, बालविवाह, छाउपडी प्रथाले आक्रान्त समाजमा कम्युनिष्ट राजनीति हुकाउनु सजिलो थिएन । बोगटीले संगठन विस्तारसँगै यस्ता कुप्रथाको विरोध गरिन् । तर उनी आफैँसँग पनि छाउपडी भोगेको अनुभव रहेकै थियो । कतिपय त्यसबेलाको परिस्थितिलाई बोगटी आफ्नै तर्कअनुसार बुझ्ने प्रयास गर्छिन् । ‘हिजो टेक्नोलोजीको विकास भएको थिएन, प्याड थिएन, सरसफाइको लागि पनि धर्मको नाममा मान्छेलाई सुरक्षित राखिएको हो’, उनी भन्छिन्, ‘फोहोर हुँदा त सबैलाई नराम्रो लाग्छ । नजिक जाने कुरा हुँदैन । त्यसरी महिलाहरुलाई सुरक्षित गर्न गोठमा राख्ने गरेको रहेछ । तर कर्णालीमा अझै पनि त्यो अवस्थामा परिवर्तन भएको छैन ।’ 

यस्ता सामाजिक विकृति र विसंगति हटाउन विद्यालयका प्रधानाध्यापक, गाउँपालिकाका अध्यक्षजस्ता प्रमुख पदमा आसीन व्यक्तिहरुले ‘एक्सन’ लिए चाँडै समाधान हुनसक्ने बताउँछिन् उनी । त्यसो त उनी आफैँ पनि २०४८ सालतिरै यस प्रथाविरोधी अभियानमा लागेकी थिइन् । त्यतिमात्रै हैन, आमा समूह बनाएर जाँडरक्सी खाने समाजविरुद्ध समेत अभियान छेडेकी थिइन् उनले । यस प्रथालाई हटाउन समाजका जिम्मेवार व्यक्तिहरुले यसका गलत बुझाइलाई सत्यतथ्यले पराजित गर्नुपर्ने उनको धारणा छ । उनी भन्छिन््, ‘खासगरी गोठमा बस्दा सुत्केरी तथा महिनावारी अवस्थामा इन्फेक्सन हुन सक्छ । सुत्केरी भयो बच्चा गोठमा जन्माउदा आमा मर्ने बच्चा मर्ने सम्भावना पनि हुन्छ । महिलाहरुलाई पनि इन्फेक्सनको समयमा कमजोर हुने इन्फेक्सन हुने सम्भावना बढी हुन्छ भन्ने जस्ता चेतना जगाउँदा यसले राम्रो प्रभाव छेड्न सक्छ ।’

हुम्लामा १३/१४ वर्षमा नै बिहे गर्ने खालको परिवेश भए पनि राजनीतिक सक्रियता र सामाजिक जनचेतनाको प्रसारणले कम गरेको उनको अनुभव छ । यसका लागि रचनात्मक कार्यक्रम गरेको सम्झिन्छिन् उनी । खासगरी सामाजिक विकृति र विसंगतिविरुद्ध लड्ने हो भने कार्यान्वयन गर्ने निकायमा महिला पुग्नु जरुरी हुने उनको बुझाइ छ । 

संघर्षले नै शक्ति प्राप्त हुन्छ !
सांसद बोगटीका अनुसार जो पीडित छ, त्यो नै सक्रिय भइदिनुपर्छ । अन्यथा संघर्ष नगर्ने मान्छे शक्तिमा पुग्नै सक्दैन । केही महिलाहरु अगाडि आए पनि सेलाएजस्तो देखिएको उनी बताउँछिन् । पीडितले आवाज नउठाउँदासम्म समाजमा थिचिएरै बस्नुपर्ने अवस्था रहेकोले उनी यसलाई महिलाहरुको पनि थोरै कमजोरी रहेको स्वीकार्छिन् । उनी भन्छिन्, ‘यो पद पायौं भनेर हामी चुप लागेर बसेजस्तो देखिन्छ । प्यास लागेको मान्छेले नै पानीको खोजी गर्नुपर्छ ।’ नेकपाभित्रै पदीय हैसियतमा महिला उपस्थिति कम हुनुमा संक्रमणकालीन अवस्था भनेर बचाउ गर्छिन् बोगटी । यद्यपि महाधिवेशनपछि ५० प्रतिशत नै नपुगे पनि ३३ प्रतिशतभन्दा विस्तारै बढी हुँदै जानेमा भने आशावादी पनि देखिन्छिन् । वर्तमान सरकारमा महिलाको उपस्थितिलाई लिएर महिलाले आवाज उठाए पनि कार्यान्वयन हुन नसकेकोमा उनको दुःखेसो छ । 

सामाजिक विकृति र विसंगतिविरुद्ध लड्ने हो भने कार्यान्वयन गर्ने निकायमा महिला पुग्नु जरुरी छ

पुरुष नेतृत्वमाथि प्रश्न 
महिलाअधिकारका लागि संघर्षरत बोगटी पुरुषहरुले बहुदल आएपछि जति वर्ष शासन चलाए पनि देशका लागि केही गर्न नसकेको बताउँछिन् । घरभित्रै सीमित महिला सामाजिक कार्यमा रहँदै नरहेकाले आफूहरु पछि पर्नुपरेको उनको बुझाइ छ । जे जति महिलाले गरे, घरपरिवारका लागि गरेको बताउने बोगटी भन्छिन्, ‘अब समाज र देशको लागि गर्न बाँकी छ ।’ महिलाहरुलाई शिक्षा लिनुहुन्न भन्ने समाजले सिक्ने अवसर नदिएको उनको आरोप छ ।

समान अवसर पाएका भए महिलाले देशमा धेरै गरेर देखाइदिने उनको भनाइ छ । विगतमा थिचोमिचो गर्ने समाज र समयबारे अब राम्ररी बुझिएकाले महिलाहरु पनि सक्षम हुँदै गएका उनी बताउँछिन् । अवसर पाउँदा महिलाले पनि कानुन निर्माण गर्न सक्ने उदाहरण संविधानसभाले पुष्टि गरिसकेको उनको भनाइ छ । अहिले पनि संसदमा जनप्रतिनिधि आफूजस्तै धेरै महिलाहरु रहेकाले अवसर पाउँदा महिलाले पुरुषले जस्तै गर्न सक्ने बताउँछिन् । 

सरकारले गर्न खोज्दै छ !
आफ्नै पार्टीको सरकारप्रति सांसद बोगटी आशावादी देखिन्छिन् । सरकारले गर्न खोजे पनि विगतदेखिको अस्तव्यस्तताले सिस्टम बन्न गाह्रो भएको बुझाइ छ उनको । संघीयतामा जाँदै गर्दा सुरुवाती चरण केही कठिन देखिए पनि विस्तारै सिष्टम बस्ने बताउँछिन् । उनी भन्छिन्, ‘अबचाहिँ काम देखिने गरेर नै हुन्छ । नयाँ सिस्टम बनाउन नियम कानुन बनाउन परेकोले समय लागेको हो । परिवर्तन भइरहेको छ, सरकारले गति लिँदै छ ।’  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै