काठमाडौं । पटक–पटक मिति सारिँदै आएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब वैशाख पहिलो सातादेखि हुने तय गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।
प्रतियोगिता आउँदो वैशाख ५ देखि ११ गतेसम्म आयोजना हुने निर्णय भएको जानकारी दिँदै राखेपका प्रेस सल्लाहकार रोहित दाहालले शनिबार पत्रकार सम्मेलन गरी विस्तृत् कार्यक्रम सार्वजनिक गरिने बताए ।
यसअघि बसेको कार्यकारी समितिको बैठकले यही चैत २५ गते प्रतियोगिताको उद्घाटन गर्न प्रस्ताव गरेको थियो ।
पछिल्लो समय राखेप सदस्यसचिव केशवकुमार विष्टले चैत २७ गते उद्घाटन हुने बताएपनि बोर्ड बैठकले वैशाख पहिलो साता पुर्याएको हो । यसअघि, प्रदेश नम्बर–५ को नेपालगन्जमा आयोजना हुने प्रतियोगिता गत मंसिरमै गर्ने निर्णय भएको थियो ।
तर, भौतिक पूर्वाधार निर्माण नै सम्पन्न नभएकाले प्रतियोगिताको मिति पटक–पटक सरेको थियो । उद्घाटनस्थल नेपालगन्ज रंगशालाको निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।
गर्मी मौसम प्रतियोगिताका लागि ठूलो चुनौती बन्ने निश्चित छ ।