• २०८१ बैशाख १४ शुक्रबार

सभामुख महराद्वारा रमजानको शुभकामना व्यक्त

kharibot

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीको महानपर्व रमजानका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

रमजानका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै धार्मिक सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न सबैलाई प्रेरणा दिने उल्लेख गरेका छन् ।

सभामुख महराले सन्देशमा भनेका छन्, “बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय र भौगोलिक विविधता हाम्रो देशका पहिचान हुन्,  हाम्रो संविधानले सबै धर्म, भाषा, संस्कृति, सम्प्रदाय, जाति र भूगोलको समान अस्तित्वलाई स्वीकार गरेको छ ।”

सन्देशमा नेपाली विविध धर्म, संस्कृति, चाडपर्व र परम्पराका धनी रहेको उल्लेख गर्दै उनले यहीँ विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको जनाएका छन् । सन्देशमा भनिएको छ, “यस्ता चाडपर्व र संस्कृतिहरुले नेपालीहरुको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्, यहीँ विविधताभित्र रहेको इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व रमजान पनि एक रहेको छ । ”

इस्लाम दर्शनअनुसार रमजान पर्वमा मुस्लिम समुदायले महीनाभर रोजा अर्थात् व्रत बस्ने गर्दछन् । यसपर्वको मुख्य सन्देश भनेको मानिसलाई सत्मार्गमा डोर्याउनु, विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरित गर्नु हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै