• २०८१ बैशाख १७ सोमबार

प्रहरी र विप्लव कार्यकर्ताबीच भोजपुरमा गोली हानाहान

kharibot

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच मुठभेट भएको छ । 

मंगलबार दिउँसो भएको मुठभेटमा प्रहरीको गोली लागेर षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका सो समूहका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । 

घिमिरेको खुट्टामा गोली लागेको छ । घिमिरलाई उपचारका लागि धरान लैजाने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए । घिमिरेको साथबाट हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । 

विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायर गरेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए । 

हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ । केही दिनदेखि भोजपुर, खोटाङ र सोलुखुम्बुको सीमा क्षेत्र मैयुङ, दोभानेमा विप्लव समूहका कार्यकर्ता हतियारसहित रहेको प्रहरीले सूचना पाएको थियो । सोही सूचनाका आधारमा प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले चारैतिरबाट घेरा हालिरहेको थियो ।

घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रजिअ खतिवडाले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै