• २०८१ बैशाख १७ सोमबार

नासाको जुनोले पत्ता लगायो बृहस्पतिको चुम्बकीय क्षेत्रको परिवर्तन

kharibot

अमेरिका । नासाको मिसन जुनोले बृहस्पतिको चुम्बकीय क्षेत्रमा आएको परिवर्तनबारे पत्ता लगाएको छ । सन् २०११ मा पृथ्वीबाट छुटेको जुनोले ग्यासीय पिण्ड बृहस्पतिको सेकुलर भेरिएसन (समयको केही खास अन्तरालमा ग्रहको चुम्बकीय क्षेत्रमा देखिने परिवर्तन) का लागि बृहस्पतिको सतहमा चल्ने हावाको शक्तिशाली बहाव मुख्य कारण भएको निश्चित गरेको छ । जुनो नासाले बृहस्पतिलाई घुम्ने एक भूउपग्रह हो । 

यो अनुसन्धानले करीब ६७ ओटा उपग्रह भएको बृहस्पतिको आन्तरिक बनावट तथा आकाशीय अवस्थितिका साथै पृथ्वीको चुम्बकीय क्षेत्रमा आउने परिवर्तनको बारेमा पनि पत्ता लगाउन यसले सहयोग गर्ने नेचर एस्ट्रोनोमी पत्रिकामा सार्वजनिक अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

चुम्बकीय क्षेत्रको परिवर्तनका बारेमा पत्ता लगाउनु केही दशक देखिको वैज्ञानिकहरुको प्रमुख ध्येय रहेको जुनोका अनुसन्धाता प्रमुख तथा साउथ वेस्ट रिसर्च इन्स्टिच्युटका प्रमुख स्कट बोल्टनले बताए । यो अनुसन्धान जुनोका अत्यन्त निश्चित मापन गर्ने वैज्ञानिक उपकरण तथा बृहस्पतिको वरिपरि एक ध्रुवदेखि अर्को ध्रुवसम्म घुमिरहने जुनोको सहायताले गरिएको हो । 

ग्रहको चुम्बकीय क्षेत्रको अवस्थिति पत्ता लगाउन ग्रहको सबैभन्दा नजिकमा रहेको उपकरणको आवश्यकता पर्छ । जुनो मिसनका वैज्ञानिकले बृहस्पतिसम्बन्धी अघिल्लो मिसन पायोनियर १० र ११, भोएजर १ र युलिसेसको तथ्यांकसँग तुलना गरेर बृहस्पतिको चुम्बकीय क्षेत्रमा भएको परिवर्तनबारे पत्ता लगाएका हुन् । 
तीन प्रकारले चुम्बकीय क्षेत्रको नक्सा मापन गर्ने क्षमता भएको म्याग्नेटोमिटर र विभिन्न वैज्ञानिक अनुसन्धानबाट प्राप्त डाटाका आधारमा बृहस्पतिको नयाँ चुम्बकीय क्षेत्रको एक खाका तयार पारिएको छ । चुम्बकीय क्षेत्रको नयाँ खाकालाई जेआरएम०९ नाम दिइएको छ । 

पायोनियर अन्तरिक्ष यान र जुनोले उपलब्ध गराएको बृहस्पतिको चुम्बकीय क्षेत्रसम्बन्धी तथ्यको विश्लेषण गर्दा चुम्बकीय क्षेत्रमा थोरै तर स्पष्ट परिवर्तन भेटिएको वैज्ञानिकहरुको भनाइ छ । 

‘केही क्षणमा हुने परिवर्तन पत्ता लगाउन जति कठिन हुन्छ, त्यस्तै बृहस्पतिको चुम्बकीय क्षेत्रमा आएको परिवर्तन पत्ता लगाउनु ठूलो चुनौती थियो,’ हार्भर्ड विश्वविद्यालयका जुनो मिसनमा आबद्ध वैज्ञानिक किमी मूरले बताए । उनले भने, ‘एक आधार तय गरेर गरिएको चार दशकको अनुसन्धानमा जुन तथ्य फेला परेको छ, त्यसले बृहस्पतिको चुम्बकीय क्षेत्रमा समयसँगै निकै परिवर्तन आएको स्पष्टरुपमा देखाएको छ ।’ 

बृहस्पतिको भूमध्यरेखानजिक चुम्बकीय क्षेत्रको संकेतका लागि देखाइएको एक ठूलो नीलो विन्दु जति व्यापक छ, त्यति नै बृहस्पतिको सेकुलर भेरिएसन पनि ठूलो छ । चुम्बकीय क्षेत्रको संकेत गर्ने ठूलो नीलो विन्दु र बलियो हावाको वहावको संयोगले नै बृहस्पतिको दुनियामा चुम्बकीय क्षेत्रको विशाल परिवर्तन ल्याउँछ । अर्थात् बृहस्पतिको दुनियामा समयको लामो अन्तरालमा देखिने चुम्बकीय क्षेत्रको परिवर्तनका लागि ठूलो नीलो विन्दुले संकेत गरिएको भूमध्य रेखानजिकको क्षेत्रमा भएको चुम्बकीय शक्तिका साथै त्यहाँ जोडले चल्ने हावाको बहाव प्रमुख कारण हुन् । 

यो निकै आश्चर्यजनक छ कि नीलो विन्दुले संकेत गरिएको ग्रहको एक सानो क्षेत्र पूरै बृहस्पतिको चुम्बकीय क्षेत्रको परिवर्तनको लागि कारण हो । मूरले भने, ‘चुम्बकीय क्षेत्रसम्बन्धी यो नयाँ बुझाइका साथ हामीले विज्ञानको भविष्यका लागि बृहस्पतिको चुम्बकीय परिवर्तनको पूरा नक्सा तयार गर्न सक्छौं । यो पृथ्वीको चुम्बकीय क्षेत्रको अनुसन्धानका लागि पनि मार्गदर्शक बन्न सक्छ र यसले धेरै रहस्यलाई उद्घाटन गर्न सहायता पुर्याउने मूरको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय