विहार । भारतको विहार प्रदेशअन्तर्गत पर्ने मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म १०३ पुगेको छ ।
“श्रीकृष्ण मेडिकल कलेज (अस्पताल) मा मात्रै मृत्यु हुनेको संख्या ८५ पुगेको छ,” अस्पतालका प्रमुख डा. सुनिल कुमार सिंहले एएनआईसँग भने ।
मुजफ्फरपुरको केजरीवाल हस्पतालमा थप एक जनाको मृत्यु भएपछि त्यहाँ मात्रै मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।
विहारका मुख्य मन्त्री नितिशकुमारले यसै विषयमा सोमबार साँझ स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुसँग बैठकको समेत आयोजना गरेका छन् ।
उनले इन्सेफ्लाईटिसबाट मृत्यु भएकाको परिवारलाई चार लाख रुपैँया दिने घोषणा पनि गरेका छन् ।
उनले रोग नियन्त्रणका लागि आवश्यक कार्य गर्न पनि स्वास्थ्य विभाग, जिल्ला प्रशासन र चिकित्सकहरूलाई निर्देशन दिएका छन् ।
टाउको दुख्ने, उच्च ज्वरो आउनेलगायतका लक्षण देखिने यो रोग सरुवा रोग भएकाले पनि धेरैलाई असर गरेको चिकित्सकहरुले बताएका छन् ।