• २०८१ बैशाख २१ शुक्रबार

भिडियो च्यालेन्ज अवार्ड विजेताको घोषणा  

kharibot

काठमाडौँ । ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलो पटक आयोजित 'टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड'  वितरण भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ ।

प्रतियोगितामा जम्बलिंग फिल्म्सले बनाएको ‘जर्नी टु सिंहला’ ले बेस्ट भिडियो अफ द इयरको अवार्ड  जितेको छ । यस भिडियोलाई भिडियो च्यालेन्जको बेस्ट भिडियोको अवार्ड जितेपछि एक लाख नगद पुरस्कार समेत जितेको छ । ।

प्रतियोगितामा ‘छठ पूजा’ सम्बन्धि भिडियोले पब्लिक च्वाइस अवार्ड जितेको छ । जनकपुर क्षेत्रलाई आधार बनाएर कुमार भाष्करले उक्त भिडियो निर्माण गरेका थिए । भाष्करको ‘छठ पूजा’ ले एक लाख नगद सहित नेपाल फिल्म एकेडेमीबाट दुई लाख बराबरको फिल्मसमबन्धि अध्ययनको छात्रवृत्ति दिइएको छ ।

यसैगरी प्रतियोगितामा फ्युचर स्टारको उपाधी ‘मानुङ कोट’ को भिडियो बनाएका आर्यन कुँवरले जिते । त्यस्तै बेस्ट  स्क्रिप्ट राइटरको उपाधी भीमलाल श्रेष्ठले निर्माण गरेको ‘मकै विवाह’ले जितेको छ ।

प्रतियोगितमा वुमन भिडियो मेकर अफ द इयरको उपाधी देवकी विष्टले जितेकी छन् । उनले ‘ट्युन अफ झाँक्री’ शीर्षकमा भिडियो बनाएकी थिइन् ।

यसैगरी मोस्ट पोटेन्सियल डेस्टिनेशनको उपाधि ‘सन्दकपुर’ले जितेको छ । सन्दकपुर गाउँपालिकाले निर्माण गरेको थियो । त्यस्तै वेस्ट टेक्निकल सिनेम्याटोग्राफीको उपाधी ‘रेड चारोट’ अर्थात रातो मछेन्द्र्नाथ सम्बन्धि भिडियोले जितेको छ । यो भिडियो दिनेश श्रेष्ठले बनाएका थिए । 

त्यस्तै मोस्ट इनर्जेटिक भिडियो मेकर अवार्ड भने इलामको धार्मिकस्थल ‘सेतीदेवी’बारे विजय राईले बनाएको भिडियोले जितेको छ । यी सवै विधाका विजेतालई नगद २५ हजार रुपैयाँ पुरस्कार दिइएको थियो ।

अवार्ड घोषणा कार्यक्रममा अवार्ड वितरणका साथै विभिन्न प्रस्तुति समेत भएका थिए । कार्यक्रममा भ्वाइस अफ नेपाल २०१८ का विजेता सिडी विजय अधिकारी र फाइनालिष्ट कुशल आचार्य तथा प्रतियोगी श्रेया राई र आन्नी श्रेष्ठले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

त्यस्तै समारोहमा चर्चित हास्यकलाकार जितु नेपालले समेत प्रस्तुति दिएका थिए ।

त्यस्तै समारोहमा अभिनेत्री छुल्ठिम गुरुङ र उनको समुहले समेत प्रस्तुति दिएका थिए भने कार्यक्रम वरिष्ठ संचारकर्मी प्रभात रिमाल र सुप्रिया तुलाधरले संचालन गरेका थिए ।

समारोहमा प्रमुख अतिथिको रुपमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल सह्बह्गी थिए भने अतिथिको रुपमा प्रतिनिधि सभाका सांसद किसान श्रेष्ठ, राष्ट्रिय सभाकी सांसद कोमल ओली लगायत खेल, सिनेमा, उद्योगलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।      

वि विल राइज फाउन्डेसनले नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गत जनवरी देखि सुरु गरेको यो अभियानलाई अर्को बर्षपनि निरन्तरता दिने यस अभियानका संयोजक निर्मल श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठले अर्को बर्ष सातै प्रदेशमा यस्तो अभियान गरेर त्यसको ग्राण्ड फिनाले काठमाडौँमा गर्ने बताएका छन् ।

सातै प्रदेशबाट विभिन्न विधामा उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु मध्येबाट निर्णायक मण्डलले विभिन्न ८ विधामा ४७ भिडियोको मनोनयन निर्णायकले गरेका थिए ।

यस ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्जका निर्णायकहरु अभिनेत्री एवं चलचित्र निर्माता करिश्मा मानन्धर, वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्याय, वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, निर्देशक सम्झना उप्रेती रौनियार र कलाकार एवं निर्देशक निर्मल शर्मालगायतले छनोट गरेका हुन् ।

यस अभियानलाई खरीबोट डट कमले मिडिया पार्टनरको रुपमा सहयोग गरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै