• २०८१ बैशाख १६ आइतबार

विश्वकपमा अस्ट्रेलिया र भारतको शिर्ष स्थानमा पुग्ने लडाई

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुदै छन् । आज भारत र श्रीलंका तथा अस्ट्रेलिया र दक्षिण अफ्रिका एक आपसमा भिड्दै छन् । 

विश्वकपबाट बाहिरिएका दक्षिण अफ्रीका र श्रीलंकाका लागि यो खेलको खासै अर्थ नभएपनि अस्ट्रेलिया र भारतका लागि भने अंक तालिकामा शिर्ष स्थानमा रहन यो खेल महत्वपूर्ण रहेको छ ।

अस्ट्रेलिया अहिले ८ खेलमा १४ अंक हासिल गरेको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै भारत ८ खेलमा १३ अंक हासिल गरेर दोस्रो स्थानमा रहेको छ । 

यस्तो अवस्थामा अस्ट्रेलिया दक्षिण अफ्रीकासँग पराजित भएमा र भारतले श्रीलंकालाई पराजित गरेमा मात्र भारत शिर्ष स्थानमा पुग्ने छ ।

शिर्ष स्थानमा हुने टिमले सेमिफाइनलमा चौथो स्थानमा रहेको न्युजील्याण्डविरुद्ध खेल्ने छ भने दोस्रो स्थानमा रहने टिमले तेस्रो स्थानमा रहेको इङल्याण्डसँग खेल्ने छ ।

भारत र श्रीलंका :

यस विश्वकपमा भारत राम्रो लयमा देखिएको छ । अहिलेसम्म खेलेका ८ खेलमा ६ खेल जितेको छ भने एक खेलमा हार र एक खेल बर्षाले रद्ध भएको थियो ।

त्यस्तै श्रीलंका भने ८ खेलमा ३ जित र ३ हार तथा २ खेल बर्षाले रद्ध हुदा ८ अंक हासिल गरेर विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ ।

भारतका लागि रोहित शर्मा उत्कृष्ट फर्ममा रहेका छन् । उनले यस विश्वकपमा ४ शतक र एक अर्धशतकसहित ५४४ रन बनाएका छन् । त्यस्तै कप्तान विराट कोहलीले ५ अर्धशतकसहित ४०४ रन बनाएका छन् । यस विश्वकपमा भारतको मध्यक्रमको ब्याटिंग बारे धेरै प्रश्न उठाइएको छ । मध्यक्रममा केदार जादभ, महेन्द्रसिंह धोनीले सुस्त ब्याटिंग गरेको आरोप लागिरहेको छ । यस्तोमा यस खेलमा भारतको मध्यक्रमको सहि परीक्षा हुने देखिन्छ ।

त्यस्तै श्रीलंकाको ब्याटिंग भने समग्र विश्वकपमा त्यति राम्रो देखिएको छैन । श्रीलंकाका लागि कुशल परेराले ३ अर्धशतकसहित सर्वाधिक २५५ रन बनाएका छन् ।

त्यस्तै बलिङ तर्फ भारतका जसप्रित बुमराह र मोहमद सामीले उत्कृष्ट बलिङ गरिरहेका छन् । दुवैले अहिलेसम्म १४-१४ विकेट लिएका छन् । श्रीलंकाका लागि भने लातिस मलिंगाले १२ विकेट लिएका छन् ।

यस खेलमा भारतले केहि खेलाडीलाई आराम दिन सक्ने बताइएको छ । भारतीय विश्वकप टिममा परेका रविन्द्र जडेजाबाहेक अन्य खेलाडी सबैले विश्वकपमा खेलिसकेकाले यस खेलमा जडेजा खेल्न सक्ने अनुमान गरिएको छ ।

अस्ट्रेलिया र दक्षिण अफ्रीका :

अस्ट्रेलिया यस विश्वकपमा उत्कृष्ट लयमा देखिएको छ । अहिलेसम्म खेलेका ८ मध्ये ७ खेलमा जित हासिल गरेर विश्वकपको प्रबल दाबेदार अस्ट्रेलिया देखिएको छ । अस्ट्रेलियाका लागि बलर मिचेल स्ट्राकले अहिलेसम्म धेरै २४ विकेट लिएका छन् । त्यस्तै पाट कमिन्सले १२ विकेट लिएका छन् । त्यस्तै ब्याटिंग तर्फ डेभिड वार्नर र कप्तान एरोन फिन्चले उत्कृष्ट फर्म देखाएका छन् । दुवैले यस विश्वकपमा ५ सयभन्दा बढी रन बनाएका छन् । वार्नरले २ शतक र ३ अर्धशतकसहित ५१६ रन बनाएका छन् भने फिन्चले पनि २ शतक र ३ अर्धशतकसहित ५०४ रन बनाएका छन् ।

अस्ट्रेलियाको ओपनर जोडीले रन बनाएको भएपनि मध्यक्रमको असली परीक्षा भने अझै भएको छैन । ओपनर जोडी फेल भएको अवस्थामा मध्यक्रमले रन बनाउन नसकेको भारतविरुद्धको खेलमा पनि देखिएको थियो । दक्षिण अफ्रीकाविरुद्ध अस्ट्रेलियाको असली परीक्षा हुने देखिएको छ ।

अस्ट्रेलियाका शन मार्श विश्वकपबाट बाहिरिएका छन् भने उनको ठाउमा पिटर ह्यान्ड्सकब टिममा आएका छन् । त्यस्तै ग्लेन म्याक्सवेलको पनि यस खेलमा खेल्ने बारे अनिश्तित्ता रहेको छ ।     

यता दक्षिण अफ्रीका भने विश्वकपबाट बाहिरएको भएपनि पछिल्लो खेलमा श्रीलंकालाई पराजित गरेर लयमा फर्किएको संकेत गरेको छ । उत्कृष्ट खेलाडी रहेको दक्षिण अफ्रीका विश्वकपमा जितसहित आफ्नो यात्रा टुंगाउन चाहेको छ ।

दक्षिण अफ्रीकाका लागि तिब्रगतिका बलर कागीसो रबाडाले विकेट नलिदा दक्षिण अफ्रीकाले विश्वकपको सेमिफाइनलमा पुग्न सकेन । निकै आशा गरेका बलर रबाडाले यस विश्वकपमा केबल ८ विकेट मात्र लिएका छन् । दक्षिण अफ्रीकाको लागि यस विश्वकपमा इमरान ताहिरले सर्वाधिक १० विकेट लिएका छन् । 

त्यस्तै दक्षिण अफ्रीकाका लागि कप्तान फाफ डुप्लेसिसले सर्वाधिक २८७ रन बनाएका छन् भने क्वेंटकक डिककले २५३ रन बनाएका छन् । 

भारत र अस्ट्रेलिया दुवै सेमिफाइनलमा इङल्याण्डसँग खेल चाहेका छैनन् । दुवैटिम शिर्ष स्थानमा पुगेर चौथो स्थानमा रहेको न्युजील्याण्डसँग खेल्न चाहेका छन् । त्यस्तैले पनि दुवैले आफ्नो अन्तिम खेल जित्ने प्रयासमा हुने छन् । त्यसैले पनि आजका दुवै खेल रोमान्चक हुने अनुमान गर्न सकिन्छ । आज भारत र श्रीलंकाबीचको खेल अपराहन्न सवा ३ बजे हुने छ भने अस्ट्रेलिया र दक्षिण अफ्रीकाबीचको खेल सवा ६ बजे हुदै छ ।                                              
                         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै