काठमाडौँ । सनसनीपूर्ण खेलमा भारतलाई पराजित गर्दै न्युजील्याण्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।
न्युजील्याण्डले दिएको २४० रनको लक्ष्य पछाएको भारतले ४९.३ ओभरमा अलआउट हुदै २२१ रन मात्र बनाएपछि न्युजील्याण्डले खेल १८ रनले जितेको हो ।
भारतलाई २२५ रनमा समेट्ने क्रममा न्युजील्याण्डका बलर माट हेनरीले सर्वाधिक ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल सान्टनरले २-२ विकेट लिए । त्यस्तै लुकी फर्गुसनले एक विकेट लिएका थिए भने जिम्मी निशामले एक विकेट लिए ।
भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ७७ रन बनाए । जडेजाले ५९ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ७७ रन बनाएर आउट भएका थिए ।
त्यस्तै महेन्द्र सिंह धोनीले ५० रन बनाए । त्यस्तै हार्दिक पाण्डेय र ऋषव पन्तले ३२-३२ रनको योगदान दिएका थिए । त्यसैगरी दिनेश कार्तिक ६ तथा रोहित शर्मा, केएल राहुल र विराट कोहली १-१ रन बनाएर आउट भएका थिए ।
विश्वकप अन्तर्गत मंगलबार रोकिएको भारत र न्युजील्याण्डबीचको पहिलो सेमिफाइनल आज भएको हो ।
न्युजील्याण्डले आफ्नो बाँकी ओभर खेल्दै भारतलाई २४० रनको लक्ष्य दिएको छ ।
न्युजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै २३९ रन बनाएको हो ।
भारत र न्युजील्याण्डबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएपछि पहिलो दिन हुन नसकेको खेललाई ‘रिजर्भ डे’ मा पुरा गर्ने नियम अनुसार आज सुरु भएको ।
अत्यन्त सुस्त सुरु गरेको न्युजील्याण्डले १० ओभरको पावरप्लेमा एक विकेट गुमाएर केबल २७ रन मात्र बनाएको थियो । १७औ बलमा पहिलो रन जोडेको न्युजील्याण्डलाई कप्तान केन विलियम्सन र हेनरी निकोलस ले सम्हालेका थिए । दुवैले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । न्युजील्याण्डका लागि दोस्रो ठुलो साझेदारी रोज टेलर र विलियम्सनबीच ६५ रनको भएको थियो ।
न्युजील्याण्डका लागि रोज टेलर ७४ रन बनाएर आउट भए भने टम लाथम १० रन बनाएर आउट भए ।
यस अघि कप्तान केन विलियम्सनले ६७ रन बनाएर आउट भएका थिए । त्यस्तै हेनरी निकोलस २८ रन बनाएर आउट भएका थिए । त्यस्तै जिम्मी निशामले १२ रन बनाए भने कोलिन डि ग्राण्डहोम १६ रन बनाएर आउट भए । यस अघि ओपनर मार्टीन गप्टिल एक रनमा आउट भएका थिए ।
त्यस्तै भारतीय बलरले किफायती बलिङ गरेका छन् । भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट लिए भने जसप्रित बुमराह, हार्दिक पाण्डेय, रविन्द्र जडेजा र युजवेन्द्र चहलले एक एक विकेट लिएका थिए ।
अब न्युजील्याण्डले अस्ट्रेलिया र इङल्याण्डबीचको विजेतासँग उपाधिको लागि खेल्ने छ ।