• २०८१ बैशाख १४ शुक्रबार

वेस्टइन्डिजमाथि भारतको सहज जित : रहाने र बुमराहको उत्कृष्ट प्रदर्शन

kharibot

काठमाडौँ । भारतले वेस्टइन्डिजविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले ३१८ रनको फराकिलो अन्तरले विजयी भएको हो ।

भारतले दिएको ४१९ रनको लक्ष्य पछाएको वेस्टइन्डिज आफ्नो दोस्रो इनिंगमा केबल १०० रन बनाउदै अल आउट भएको थियो ।

जसमा केमर रोचले सर्वाधिक ३८ रन बनाए भने मिग्येल कमिन्सले १९ र रोसटन चेजले १२ रन बनाएका थिए । वेस्टइन्डिजका अन्य खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

भारतका बलर जसप्रित बुमराहले सर्वाधिक ५ विकेट लिए भने इशान्त शर्माले ३ विकेट लिए । त्यस्तै मोहमद सामीले २ विकेट लिएका थिए ।

यस अघि भारतले आफ्नो दोस्रो इनिंगमा ७ विकेट गुमाएर ३४३ रन बनाउदै इनिंग घोषणा गरेको थियो ।

भारतका लागि आजिख्य रहानेले शतकीय पारी खेलेका थिए । रहाने १०२ रन बनाएर आउट भएका थिए । त्यस्तै अर्का युवा खेलाडी हनुमा विहारी ९३ रन बनाएर आउट भएका थिए ।

त्यस्तै कप्तान विराट कोहलीले ५१, चैतेस्वर पुजाराले २५, केएल राहुलले ३८, मयांक अग्रवालले १६ रन बनाएका थिए ।

वेस्टइन्डिजका लागि रोसटन चेजले सर्वाधिक ४ विकेट लिए भने केमार रोच, शानन गाब्रियल र जेसन होल्डरले एक एक विकेट लिएका थिए ।

यस अघि भारतले पहिलो इनिंगमा २९७ रन बनाएको थियो भने वेस्टइन्डिजले २२२ रन बनाएको थियो ।

यस खेलमा पहिलो इनिंगमा ८१ र दोस्रो इनिंगमा १०२ रन बनाएका भारतका आजिख्य रहाने खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

दुई खेलको टेस्ट सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल अगस्ट ३० बाट सुरु हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै