काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिलाउन सत्तारूढ दल नेकपाको ध्यानाकर्षण गरेका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै थापाले निरन्तर बिरामी र कमजोर स्वास्थ्य अवस्था भएका प्रधानमन्त्री ओलीलाई विश्राम लिने वातावरण बनाउन आग्रह गरेका हुन् ।
चिकित्सकहरुले शंका गरेजस्तो बारम्बार विदेश गएर उपचार गराइरहनुपर्ने प्रधानमन्त्रीमा इच्छाशक्ति हुँदैमा कामको बोझ उठाउन मुस्किल हुने भन्दै उनले कामका लागि स्वास्थ्यले पनि साथ दिनुपर्ने बताए ।
नेपालको प्रजातान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा योगदान पुर्याएका ओलीलाई लामो समयसम्म अभिभावककारुपमा देख्न चाहेको भन्दै सांसद थापाले उनलाई आरामको आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यको यकिन अवस्थाबारे सरकारले संसदलाई जानकारीसमेत नदिएको गुनासो पनि थापाले गरे ।