• २०८१ बैशाख १७ सोमबार

पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला

kharibot

फाइल तस्वीर

काठमाडौँ । दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो ।  

बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । सयौँ व्यक्ति एकाबिहानैदेखि पोखरा र गोरखाका विभिन्न स्थान जानका लागि टिकट लिन बसपार्क पुगेका थिए । गोरखा र पोखराका लागि नयाँ बसपार्कबाट मात्र टिकट लिने व्यवस्था गरिएको छ । 

दशैँको टिकट खुला भएसँगै संस्कार समाज नेपालले यात्रुलाई सुरक्षित यात्राका लागि एक हजार सवारीसाधनमा जनचेतनामूलक सामग्रीसहितको पेनड्राइभ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ सिकाऔँ’, ‘आफ्नो देश आफँै बनाऔँ’ भन्ने मूल लक्ष्यसहित स्थापना भएको संस्कार समाज नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगको सहकार्यमा बिहीबारदेखि पेनड्राइभ वितरण गर्न शुरु गरेको हो । 

अहिले नयाँ बसपार्कबाट छुट्ने एक हजार सवारीसाधनलाई पेनड्राइभ वितरण गरिए पनि आगामी दिनमा देशैभर उक्त अभियान थालिने बताइएको छ । समाजले यसअघि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जनचेतनामूलक होर्डिङ बोर्ड, हरेक हप्ता सरसफाइ, विद्यालयमा असल संस्कारसम्बन्धी कक्षा सञ्चालन र अनाथ तथा असहायलाई सहयोग गर्दै आएको छ । दशैँ लागेसँगै नयाँ बसपार्कमा दैनिकजसो यात्रुको भीड लाग्ने गरेको छ ।

दैनिक दुई हजारभन्दा बढी बस नयाँ बसपार्कबाट गुड्ने गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै