• २०८१ बैशाख १७ सोमबार

अनिश थापामगर बने चौथो पटक लिगलिगे राजा 

kharibot

गोरखा । पर्वतका अनिश थापामगर चौथो पटक लिगलिगे दौडको विजेता बनेका छन् ।

यसअघि चार पटकसम्म लिगलिगे राजा बन्न सफल पर्वतका अनिश बिहीबार भएको दशौँ लिगलिगे दौड जितेर चौंथो पटक पनि राजा बनेका छन् । अनिशले २०७१, २०७३ र २०७५ मा दौड जितेर लिगलिगे राजा बनेका थिए । 

भारतीय सेनामा कार्यरत अनिश चेपे र मर्स्याङ्दी नदिको दोभानबाट लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै लिगलिगे दौड जितेर लिगलिगे राजा बनेका हुन् । 

दौडेर लिगलिगको राजा हुने परम्परालाई उजागर गर्न २०६७ सालदेखि लिगलिगे दौड हुँदै आएको छ । दौडका विजेतालाई राजाका रुपमा एक रात लिगलिगकोटमा राख्ने गरिन्छ । लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङ्टार नगरपालिकाको पर्यटन सद्भावना दूत पनि घोषणा गरिएको छ ।

यही दुरी १ घण्टा एक मिनेट ८ सेकेण्डमा पार गरी डोटीका खगेन्द्रबहादुर भाट दोस्रो र एकघण्टा एक मिनेट ३४ सेकेण्डमा पार गरी लम्जुङका रामजी बस्नेत तेस्रो भएका छन् । पालुङ्टार नगरपालिका, लिगलिगकोट विकास अभियान र रणसिंह दल गणको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई एक समारोहकाबीच राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले ६० हजार १ सय रुपैयाँ, लिगलिगे राजाको र पालुङ्टार नगरपालिकाको सद्भावना दूतको दर्जा, श्रीपेच, पगरीमा सजाउने, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरेका छन्

यस्तै, दोस्रो हुनेलाई ३५ हजार १ सय रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार १ सय रुपैयाँ, चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा छैटौं हुनेलाई सात हजार, सातौँ हुनेलाई पाँच हजार, आठौँ हुनेलाई चार हजार, नवौं हुनेलाई तीन हजार र दशौं हुनेलाई नगद दुई हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार दिइएको छ । सबै पुरस्कारको व्यवस्था नेपाली सेनाको रणसिँह दल गणले गरेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै