काठमाडौं । संसद् सचिवालयमा काम गर्ने महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
यस अघि १० दिन प्रहरी हिरासतमा बसिसकेका महरा अझै ३ दिन प्रहरी हिरासतमै रहने भएका छन् ।
यही असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका महरालाई लामो दशैं बिदाका कारण पक्राउ परेको दशौं दिन मंगलवार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् प्रहरीले १३ दिन म्याद थप गर्न माग गरेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपकराज दाहालको इजलासले १३ दिनकै समय दिएको हो ।
मंगलवार भएको थुनछेक बहसमा महराका तर्फबाट पूर्व महान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अघिवक्ता रमन श्रेष्ठ र मुरारी सापकोटाले बहस गरेका थिए ।