• २०८१ बैशाख १८ मंगलबार

पेट्रोलियम पाईपलाईनले ढुवानीमा कटौती

kharibot

बारा । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन सञ्चालनमा आउन थाले पछि भारतीय आयल कर्पोरेशनको बरौनी रिफाईनरीबाट नेपाली ट्याङ्करबाट आयत हुन छोडेको छ ।

नेपाल आयलले सबै भन्दै धेरै तेल ढुवानी गर्ने बरौनीबाट ट्याङ्कर लोड् हुन छोडे पछि दैनिक करिव एक सय ५० वटा ट्याङ्करका लागि हुँने खर्च कटौती हुने भएको छ ।

नेपाल आयल निगम क्षेत्रिय डिपो अमलेखगञ्ज बाराका डिपो प्रमुख प्रदिप यादवले बरौनीबाट डिजल लोड् गर्ने कार्य बन्द गरिएको जानकारी दिए ।

बरौनीबाट लोड् बन्द भए पनि रक्सौलबाट भने डिजल लोड भईरहेको समेत उनले बताए । पाईपबाट कति आयत गर्न सकिन्छ भन्ने जानकारी नभईसकेकाले रक्सौलबाट हाल डिजल लोड् भईरहेको यादवले बताए ।

बिरगंजको सीमा पारी रहेको रक्सौल डिपोबाट भने निगमले ट्याङ्कर मार्फत डिजल आयतलाई निरन्तरता दिई रहेको छ । पाईप मार्फत डिजल आउन थाले पछि रक्सौल डिपोबाट समेत ट्याङ्कर मार्फत आउने डिजलको परिमाण ५० प्रतिशतले घटेको निगमले जनाएको छ ।

ईण्डियन आयलको मोतिहारीमा डिपो नहुँदा हाल पटनाबाट डिजल पम्पिङ्ग भईरहेको छ । ईण्डियन आयलले २०१९ को अन्त्य सम्ममा मोतिहारीमा डिपो स्थापना गरे पछि पाईप मार्फत आउँने डिजल मोतिहारीबाट नैं आउने छ ।

हाल प्रति घण्टा दुई सय किलो लिटर डिजल आईरहेकोमा मोतिहारीबाट पम्पिङ्ग शुरु भएपछि दुई सय ९० किलो लिटर प्रति घण्टा डिजल आउने निगमले जनाएको छ ।

अमलेखगञ्ज डिपोले काठमाण्डौं, बिराटनगर, पोखरा र भैरहवामा डिजेल आपूर्ति गर्दै आईरहेको छ ।

बजार माग अनुसार पाईप लाईनबाट आएको डिजलले पुगिरहेकाले बरौनीबाट थप ल्याउनु पर्ने आवश्यक्ता नरहेको निगमले जनाएको छ ।

यस अघि बरौनीबाट दुई हजार पाँच सय किलो लिटर डिजल र एक हजार किलो लिटर पेट्रोल आयत गर्ने गरेको थियो । हाल बरौनीबाट पेट्रोल मात्र आईरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै