• २०८१ बैशाख २७ बिहीबार

गायिका आस्था राउतविरूद्ध पक्राउ पूर्जी जारी

kharibot

काठमाडौँ । गायिका आस्था राउतविरूद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ ।

राउतलाई अभद्र व्यवहार कसुरको जाहेरी दर्तामा पक्राउ गर्न प्रशासनले आइतबार प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला प्रशासन कार्यालयको पक्राउ अनुमतिसँगै अब राउतलाई प्रहरीएल पक्राउ गर्न सक्ने छ ।

राउत अहिले कार्यक्रमको सिलसिलामा भारतको सिक्किममा रहेको बताइएको छ ।

राउतविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी काठमाडौं प्रहरीमा आइतबारै जाहेरी दर्ता भएको थियो ।

प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्यवहार कसुर अन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको थियो ।

प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनलाई नै जाहेरी मानेर प्रहरीले राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दा दर्ता गरेको हो । अभद्र व्यवहार कसुरको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी प्रावधान रहेको छ । यस मुद्दामा एक वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था रहेको छ । 

के हो राउत प्रकरण ? भिडियोमा के छ ? 

गायिका आस्था राउतमाथि त्रिभुवन विमानस्थलमा भएको प्रहरी चेकिङको भिडियो सार्वजनिक भएको छ । विमानस्थलमा एक महिला प्रहरीले कलाकारमाथि दुर्व्यवहार गरेको र अपशब्द प्रयोग गरेको भन्दै गायिका राउतले प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेकी थिइन् । उक्त लाइभमा गायिका राउतले प्रहरीलाई प्रहरी मेरो साथी भन्ने नारा हटाउन भन्दै प्रहरीमाथि खरो टिप्पणी गरेकी थिइन् ।

तर राउतको टिप्पणीमाथि नै धेरैले आपत्ति जनाएपछि राउतले आवेशमा आएर अपशब्द बोलेको भन्दै माफी मागेकी थिइन् ।

आखिर आस्था राउतमाथि त्रिभुवन विमानस्थलको सुरक्षा चेकिङमा के भएको थियो  ?  खरीबोटलाई प्राप्त भिडियोमा विमानस्थल सुरक्षाको समयमा राउतमाथि भएको के थियो भन्ने स्पष्ट भएको छ ।

भिडियोमा सुरुमा आस्था राउत र अर्का एक युवकसँगै आउँछन् । युवक पुरुषको लाइनमा चेकजाँचका लागि जान्छन् भने राउत महिला प्रहरी भएकोतिर आएकी छन् ।

महिला प्रहरी रमिशा श्रेष्ठ चेकजाँचमा थिइन् । राउतको हातमा कफीसमेत थियो । महिला प्रहरीले राउतलाई ज्याकेट खोलेर आउन भन्छिन् । बरु राउतको हातमा रहेको कफीसमेत महिला प्रहरीले समतिदिएकी छन्, त्यसपछि कफी टेबुलमा राखिदिएको भिडियोमा देखिन्छ । त्यसपछि राउत रिसाउँदै बाहिर जान्छिन् र आफ्नो ज्याकेट खोली एक्सरे मेसिनमा राख्छिन् । त्यसपछि राउत प्रहरी चेकिङमा जान्छिन् । महिला प्रहरीले राउतको शरीर खानतलासी गर्छिन् । त्यसपछि पनि राउत रिसाएर आफ्नो ज्याकेट लिन गएको देखिन्छ ।

राउत निस्कन लागेपछि महिला प्रहरीले कफी लैजान भनेको र राउतले कफी नलिई निस्कन खोजेको देखिन्छ । महिला प्रहरी आफैले कफी ल्याएर दिन्छिन् । तर पनि उनी अझै रिसाएर निस्कन खोज्छिन् । त्यसपछि महिला प्रहरीले राउतको ज्याकेट समातेर फेरि पनि कफी लैजान भन्छिन् ।

तर, राउत कफी लैजान मान्दिनन् । त्यसपछि केही समय महिला प्रहरी र राउतबीच टेबलमा कफी दिने र नलिने प्रक्रिया भएको देखिन्छ । यसक्रममा टेबलमा कफी फोखिएको देखिन्छ । 

भिडियोमा ज्याकेट लगाएर ब्याग बोकी कफी नलिई राउत गएको र जानेक्रममा राउतले महिला प्रहरीमाथि नै औँला ठड्याएर केही बोलेको देखिन्छ । राउतको व्यवहार हेर्दा धम्की दिए जस्तो देखिन्छ भने महिला प्रहरीले आफ्नो काम गरिरहेको देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै