• २०८१ बैशाख १८ मंगलबार

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपिएफद्वारा फ्रेण्ड्स पराजित

kharibot

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले फ्रेन्ड्स क्लबमाथि सानदार जीत हात पारेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो। एपिएफको जीतमा आशिष लामा र प्रवीन स्याङतेनले दुई/दुई गोल गरे भने कप्तान टोपबहादुर विष्टले थप एक गोल गरे। पराजित फ्रेन्ड्स क्लबका लागि विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे।

खेलको १२ औँ मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई शुरुआती अग्रता दिलाए। खेलको ४० औँ मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाए।

खेलको ६९ औँ मिनेटमा फिलिपेले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को स्थितिमा ल्याए। खेलको ७१ औँ मिनेटमा प्रवीनले गोल गर्दै एपिएफलाई ३–१ को अग्रता दिलाए। ७६ औँ मिनेटमा फ्रेन्ड्सका विश्वले गोल गर्दा खेल ३–२ को स्थितिमा पुग्यो।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा एपिएफले लगातार दुई गोल गर्यो। जसमा कप्तान टोपबहादुरले गोल गर्दै एपिएफलाई ४–२ को अग्रता दिलाए भने  प्रवीनले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ५–२ को सानदार जीत दिलाए।

जारी लिगमा यो एपिएफको दोस्रो जीत हो। जीतसँगै एपिएफले १२ खेलमा आठ अङ्क जोडेको छ। एपिएफ १३ औँ स्थानमा छ।

पराजित फ्रेन्ड्स १२ खेलमा १४ अङ्क जोडेर लिगको नवौँ स्थानमा रहेको छ। खेलमा एपिएफका आशिष लामा म्यान अफ दि म्याच घोषित भए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय