• २०८३ जेठ २४ आइतबार

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता सूत्र

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता सूत्र

काठमाडौँ । शून्य सहनशीलता नीति त्यो हो जुन तोकिएका नियमहरुको उल्लंघन गर्दा तोकिएको सजाय दिइन्छ । शून्य सहनशीलता नीतिहरूले अधिकारको स्थितिमा व्यक्तिहरूलाई विवेक प्रयोग गर्न वा सजाय परिवर्तन गर्नबाट निषेध गर्दछ । त्यस्ता कानूनहरूले व्यक्तिगत अपराधीत्व, विस्फोटक अवस्था वा विगतको इतिहासलाई पर्वाह नगरी पूर्व निर्धारित सजाय दिन्छन् ।

शुन्य सहनशीलता त्यस्तो पद्धति हो, निर्दिष्ट ऐन कानुन तोड्ने अनुचित आचरण भ्रष्टाचारमा, कालोबजारीमा संलग्न व्यक्ति वा समूहलाई कुनै पनि खाले दवाब वा प्रभावमा (राजनीतिक, आर्थिक र पदीय) नपरी कानुनी दायरामा लिनु हो ।

अनलाइन एटिमोलॉजी डिक्शनरीका अनुसार पहिलो पटक 'शून्य सहनशीलता' भन्ने शव्दको प्रयोग १९७२ मा अमेरिकामा गरिएको थियो । यो मूलत: संयुक्त राज्य अमेरिकाको राजनीतिमा प्रयोग भएको थियो । 

यो पहिलोचोटी सन् १९७३ मा अमेरिकाको न्युजर्सि राज्यमा शान्त, सुरक्षित र सफा छिमेकी ऐनको सुरुवातसंगै जिरो टोलरेन्सको अवधारणा विकास भएको पाइन्छ ।

भ्रष्टाचार नेपालको समृद्धि र बिकासको मूल बाधक तत्व  हो । यसलाई जरै देखि उखेलेर नफालेसम्म नेपाल समृद्ध हुदैन् । यो हटाउने लिखित र मौखिक प्रयासहरु नभएका होइनन् । तर ब्यवहारीक प्रयोग भने हेर्न बाँकी नै छ ।

नेकपाले ‘सुशासन, न्याय र मानव अधिकारको रक्षाका लागि भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरिन्छ र सुशासनका लागि सार्वजनिक प्रशासनलाई भ्रष्टाचारमुक्त बनाइन्छ ।´ भन्ने नितिमा जोड दिएको छ भने नेपाली कांग्रेसले ‘राष्ट्रिय सदाचारसंहिता निर्माण गरी सबै क्षेत्रमा शुद्ध आचरणको विकास गर्ने व्यवस्था गरिन्छ’ भन्ने नीति लिएको छ । तथापि परिणाम शून्य छ ।

‘ म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।´ यो उदगार नेपालका दुई तिहाई बहुमतलको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको हो । उहाँ सबै जसो कार्यक्रममा यहि कुरा दोहोर्‍याउनु हुन्छ । उहाँ मात्र होइन बनमन्त्री शक्तिबहादुर बस्नेत हुन या गृहमन्त्री रामबहादुर थापा बादल हुन या अरु मन्त्री तथा सचिव नै किन नहुन बारम्बार ‘सरकार सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अबलम्बन गर्छ’ को रटान लगाउँछ्न् । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला नेपालमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने नीति अक्तियार गर्ने प्रतिबद्धता जनाएर निर्देशन पनि दिए । उनले त्यति बेला भनेका थिए -`ढुक्क भएर काम गर्नोस् । म प्रशासनिक तथा सुरक्षा निकायमा कत्ति पनि हस्तक्षेप गर्दिनँ र हुन पनि दिन्नँ ।'  तर त्यो पानीको फोका सरी भयो भन्दा हुन्छ । घटनाक्रमले त्यहि भन्छ ।

समृद्ध नेपाल र सुखी नेपाली’ को भिजन पूरा गर्ने भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्ने पर्छ । तर यहाँ नेर प्रश्न छ- किन घटदैन भ्रष्टाचार ?

नेपाल ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनअनुसार नेपाल सन् २०१७ र २०१८ भन्दा भ्रष्ट मुलुकको सूचीमा पर्यो । नेपाल सन २०१७ मा सुशासनको अवस्थामा १२२औं स्थानमा थियो भने सन २०१८ मा खस्किएर ३१ अंकसहित १२४औं स्थानमा झरेको छ । यो अवस्था सन् २०१२ देखिकै निरन्तरता भए पनि यसमा कुनै सुधार आएको छैन, बरु खस्किदो छ ।

`राजनीतिक स्थिरतापछि पनि सुधार नदेखिनु दु:खद हो । राजनीतिक स्थायित्वपछि अब सरकारको पहिलो प्राथमिकता सुशासन हुनुपर्छ ।’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीले त्यो बेला भनेका थिए । त्यो पनि काम लागेन उहीँ काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्ने नेपाली उखानको चरितार्थ मात्र गर्‍यो । यसरी कसरी पूरा हुन्छ `समृद्ध नेपाल,सुखी नेपाली´को आकांक्षा को सपना ।

नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ । त्यस्तै सम्पत्ति शुद्धीकरण आयोग, राष्ट्रिय सतर्कता केन्द्रजस्ता निकाय, नेपाल ट्रान्सपरेन्सी इन्टरनेसनल तथा विभिन्न ऎन कानुनहरू र विधि बिधान पनि बनेका छन् ।

जनताले पनि विभिन्न अभियान संचालन गरेका छ्न् । यिनले दण्डात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक उपायहरू अवलम्बन गरी मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन विभिन्न कार्यहरू गर्दै आएको भए पनि जति कार्य गर्नुपर्ने थियो, सो सम्पन्न हुन सकिरहेको छैन । यहाँ कार्यान्वयन पक्ष कमजोर देखिएका छ्न्। ठुला माछा उम्किएका छ्न् ।

भ्रष्टाचार प्रायः पद, प्रतिष्ठा, प्रभाव, सम्पती, प्राप्ति र पावरको लोभमा गरिएको पाइएको छ । यो हामी जस्तो मुलुकको लागि मुख्य चुनौती हो । यो हटाउन सोचेजस्तो सजिलो छैन् ।

नेपाल सरकारका पूर्वमुख्य सचिव माधव घिमिरेले भ्रष्टाचार सुशासनको प्रमुख अवरोध भएको भन्दै सरकारका साथै निजी क्षेत्रको संयुक्त लडाइँले मात्र भ्रष्टाचार विरुद्धको लडाइँ जित्न सकिने बताएका थिए । तर संयुक्त प्रयाश खासै हुन सकेन् । स्थित उस्तै रह्यो ।

भ्रष्टाचारले गाँजेको प्रशासनिक संरचनाका कारण नेपालमा अपेक्षित विदेशी लगानी भित्रिन नसकेको पूर्व अमेरिकी राजदूत स्कट एच डेलिसीले बताएका थिए । उनले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको प्रतिबद्धताका साथै अख्तियार लगायत निकायको संस्थागत सुधार आवश्यक रहेको उनल औंल्याएका थिए । तर काममा अपेक्षित उपलब्धि हुन् सकेन । भनेर मात्र के हुन्छ । कर्म नै नगरेपछि । यी सब पानीको फोका सरह भए ।

यहाँ भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको सूत्रहरु प्रस्तुत गरिएको छ:

अरुको भलाई  गर्ने:

अरुको भलाईको बारेमा सोच्नु, परोपकारी बन्नु, दुखी गरिव र असाहयको उदार गर्नु मानिसको परम कर्तव्य हो तर कर्तव्यच्यूत भएर मान्छे ले आफू र आफ्नो वरिपरिको मात्र भलाईको बारेमा सोच्छ त्यो पनि अल्पकालीन हिसाबले र भ्रष्टाचारी बन्न पुग्छ । भ्रष्टाचारीको एउटा समस्या भनेको आफूलाई भ्रष्ट नसम्झ्नु हो र त्यसको नराम्रो गरि लत बस्नु हो। अरुको भलाईको बारेमा सोच्दा र लाग्दा भ्रष्टाचार गर्न अवसर र समय नै हुदैन् । चीनका राष्ट्रपति सि जिङ्पिङ्को पछिल्लो अभिव्यक्तिले स्पष्ट गर्छ कि स्वार्थी प्रवृत्तिलाई त्यागेर अरुको भलाई सोच्ने र गर्ने हो भने त्यसैमा आफ्नो भलाई पनि हुन्छ । अझ उनी थप्छ्न नीजी सम्पत्ति थुपार्नेहरु कम्युनिस्ट हुनै सक्दैनन्।यो भनाई  नेकपालाई एउटा गतिलो थप्पड भएको छ ।

अझ भनु मनको ठुलो डर भएको छ । तर के गर्नु ....

अंहमको नियन्त्रण:

नेम र फेमको भोक मेट्न र प्रशंसाको शोख पूरा गर्न ब्यक्ती भ्रष्टाचार गर्न समेत पछि पर्दैन् । सम्पत्तिको लोभले र अहङ्कारी प्रवृत्तिले गर्दा भ्रष्ट हुन पुग्छ । काम, क्रोध, लोभ, मोह, मद र मत्सरमा परेर आफूलाई सर्वश्रेष्ठ बनाउने भ्रममा भ्रष्टाचार गर्न पुग्छ । त्यसैले आफूसँग भएको अहंमको भाव, बानी र प्रवृत्तिको नियन्त्रण वा त्याग नगरेसम्म ब्यक्ती भ्रष्टाचार विरुद्ध शून्य सहनशील हुनै सक्दैन् । हाम्रो सरकारी, नेतृत्व आम सार्वजनिक प्रशासन, सरकारी तथा निजी संघ सस्था ब्यक्तीले शून्य सहनशील अहमको नियन्त्रण गर्नुपर्छ ।

बर्तमानमा केन्द्रीत :

नेपालका नेता तथा कर्मचारीले अरु नेता र कर्मचारीको हिजोको गलत कुरा सिकेको र आउदै नआउने भोलीको लागि अत्याधिक आर्थिक जोहो गर्ने हुँदा भ्रष्टाचार बढ्न गएको हो । उनिहरु वर्तमानमा केन्द्रित भएर आजको लागि काम गर्न सकेनन् बरु उनिहरुलाई आकर्षक इन्स्योरेन्स पोलीसी अनुसार इन्स्योरेन्स गरिदिए हुन्छ ।

धर्मको पालना गर्नु :

मृत्यु बोध :

मानिसले मर्ने बेलामा मात्र सत्य बोल्छ । तत्व ज्ञान प्राप्त गर्छ तर त्यो बोध अगाडि नै हुन सके पक्कै पनि गतल कूकृत्य गर्दैनथ्यो । भनिन्छ- यदि तिमीलाई कसरी मर्ने भनेर थाहा छैन् भने कसरी बाँच्ने भनेर पनि थाहा हुदैन् ।

म मर्छु भन्ने बोध नभएको मानिसले नै भ्रष्टाचार गर्न पुग्छ । त्यसैले मृत्युको बारेमा मानिसले बुझ्यो भने निश्चितै मान्छेले भ्रष्टाचार गर्दैनथ्यो ।

इमानदार,जवाफदेही र सबल राजनीतिक नेतृत्व:

राजनीतिज्ञले स्वच्छभन्दा भ्रष्ट र योग्यभन्दा अयोग्य व्यक्तिहरूलाई जिम्मेवारी दिन रुचाउँछन् र जिम्मेवारी पाउनेले जिम्मेवारीलाई अवसरका रूपमा उपयोग गर्छन् त्यहाँ राज्यका संस्थाहरू कमजोर हुन्छन् र भ्रष्टाचार मौलाउने गर्छ ।

सुशासन र कानुनी राज्यको प्रत्याभूत :

देशमा भएका भ्रष्टाचार निवारण ऎन नियम,कार्यबिधीको प्रभावकारी कार्यान्वयन गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आगोगलाई अझ प्रभावकारी बनाउने, राजनितिक हस्तक्षेपबाट मुक्त गर्ने, अदालतलाई प्रभाव नपार्ने नपर्ने, सम्पत्ति शुद्धीकरणलाई प्रभावकारी बनाउँने, राज्य संयन्त्रलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउँने, कानुनको अभाव भए बनाउने लागू गर्ने हो भने जनताले सुशासन र कानुनी राज्यको प्रत्याभूत गर्छ्न् ।

दृढ राज्य नीति बनाएर सानालाई ऎन र ठुलालाई चैन होइन समनीति अवलम्बन गर्नुपर्छ । यसको हल्का छनक महरा प्रकरणले दिन्छ तर हेर्न बाँकी नै छ ।

शुद्धआचरण, सामाजिक मान्यता र व्यवहारमा परिवर्तन:

शुद्ध आचरण निर्माणको लागि ब्यक्ति धार्मिक तथा अध्यात्मिक हुनुपर्छ । यहाँ जड या कटरको कुरा गरिएको होइन् । मुनस्मिृतिको श्लोक ‘धृतिः क्षमा दमोऽस्तेयं शौचं इन्द्रियनिग्रहः धीर्विद्या सत्यं अक्रोधो दशकं धर्मलक्षणम्’मा धर्मको दश लक्षणकोबारे चर्चा गरिएको छ । धृति-धैर्य, क्षमा-क्षमाशीलता, अस्तेय- नचोनू, शौच- पवित्रता, इन्द्रिय निग्रह- इन्द्रियलाई बसमा पार्नु, धीर- बौद्धिकता, विद्या- दक्षता, सत्य-साँचो, अक्रोध- नरिसाउनु धर्मका दश लक्षणलाई जनाउँछ । यी गुणहरु ब्यक्तिमा विकसित गर्नुपर्छ अनि मात्र राज्यले आफ्नु उदेश्य हासिल गर्ने सक्छ । सामाजिक मुल्य र  मान्यताले पनि कतिपय अवस्थामा भ्रष्टाचारलाई प्रश्रय दिन्छ्न् यदि त्यस्तो भए तीनीहरुको समेत परिवर्तन गर्नुपर्छ । तसर्थ नैतिक मूल्य मान्यता र शुद्ध आचरण ग्रहण गरि ब्यवहार परिवर्तन गर्नुपर्छ ।

आधारभूत आवश्यकताको परिपुर्ति र आर्थिक उन्नतिमा जोड:

जनताहरुको गाँस, बाँस कपास, स्वास्थ्य, शिक्षा, सुरक्षाजस्ता आवश्यकताहरुको परिपुर्ति सरकारले लिनुपर्छ । सरकार बढी जिम्मेवारी हुनुपर्छ । जनताको लगानी प्रक्रिया र उत्पादन नबढेसम्म, प्रतिव्यक्ति आय नबढेसम्म र आत्मनिर्भर नहुदासम्म आर्थिक समृद्धिको संभावना छैन् । आर्थिक बिकास र समृद्धि नहुदासम्म भ्रष्टाचार निवारण हुदैन् । तसर्थ आर्थिक वृद्धि र बिकासमा जोड दिनुको विकल्प केही छैन् ।

जनचेतनामा वृद्धि:

गायक जीवन शर्माको गीत कालो धन थुपारेर ढल्की हिड्नु भन्दा, हलो जोत्नु गिटि कुट्नु होला राम्रो धन्दा...चाहिदैन् मलाई सिसाको महल,... चहिदैन् मलाई सम्पतिको रास…´ होस वा पशुपति शर्माको `लुट्न सके लुट कान्छा, अरु देशमा पाइदैन् नेपालमै हो छुट…´ होस वा कर्ण दासको स्वरको गीत `ठुलाठुला महल होइन सीप सिकाउने झुपडी देऊ,भिक्षा माग्ने मैदान होइन्....´ वा सिस्नो पानीको देउसीको खबरदारी होस सबैले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको लागि सचेत गरेका छन् । तर अचम्म यो छ कि सरकारी नेतृत्व नै उनिहरुको विरुद्ध खनिदा चाहिँ हासो उढ्छ कतै नेताले नै लोकतन्त्रको खिल्ली उडाएका त छैनन् वा कमजोर पारेका त छैनन् ।

अझ गीत, नाटक, लेख, कथा,  कविता, सेमिनार, गोष्ठी, प्रशिक्षण, भाषण, आदिवाद भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउनु पर्ने हुन्छ । हुन त भ्रष्टाचारविरुद्धका अभियान्ता त छ्न् तर त्यतिले मात्र पुगेन सबै जनता जाग्नु पर्‍यो । 

भ्रष्टाचार पूर्ण रूपमा हटाउन सकिने विषय नभए पनि घटाउन सकिने विषय हो । भ्रष्टाचारीविरुद्धको निर्णय गर्दा पारदर्शी रूपमा गर्ने, जिम्मेवारीप्रति सचेत हुने, सार्वजनिक ओहोदाका पदहरूको कार्य र अधिकार क्षेत्र कानुनले नै स्पष्ट गर्ने, निर्णय गर्दा स्वविवेक र तजबिजी अधिकार प्रयोग गर्न नहुने कुरामा सचेत हुनुपर्छ ।

राज्यको शून्य सहनशीलता नीति स्पष्ट हुनुपर्ने, राजनीतिक आचरण शुद्ध हुनुपर्ने, राजनीतिलाई अपराधीकरण हुनबाट बचाउने, राजनीतिमा योग्य र इमान्दार व्यक्तिहरूको सहभागिता बढाउने, स्थिर राजनीतिक वातावरण र सक्षम नेतृत्व निर्माण गर्ने लगायतका पक्षहरूमा विशेष ध्यान दिन सक्ने हो भने हाम्रो समाजबाट भ्रष्टाचार बिस्तारै न्यूनीकरण हुँदै जान सक्छ । यसो हेर्दा त सबै ठिक ठाक लाग्छ तर नियम ठिक भएर के गर्नु यहाँ नियत खराव देखिन्छ। तसर्थ नियतमा सुधार हुनु आवश्यक छ। नेता,नेतृत्व र कर्मचारीको नियतलाई सहि बनाउने ब्यवस्था र कानुन निर्माण र प्रयोग गर्नुपर्छ । उनिहरुलाई उचित संस्कार  सिकाउनु र आध्यात्मिक बनाउनु बान्छ्निय हुन्छ ।

त्यतिमात्र होइन अहमको त्याग गर्ने, धर्मको पालन गर्ने, सुशासन प्रदान गर्ने, इमानदार, शुद्ध आचरण र परिवर्तित ब्यवहार प्रदर्शन गर्ने हो र राष्ट्र र अरुको भलाईको लागि जीवन समर्पित गर्न हो भने मति भ्रष्ट हुदैन् र भ्रष्टाचार हुदैन् ।

तर नैतिक आधारशिला संरक्षण गर्ने व्यक्ति नै अनैतिक र राजनीतिक रूपमा पूर्वाग्रही भएमा उचित निति र न्याय कायम हुन सक्दैन । जुन अहिले घाम जस्तै छर्लङ्ग देखिएको छ । यो पारा र तरिकाले हुन्न । उपर्युक्त  भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता सूत्रको ब्यवहारीक सफल प्रयोग हुनुपर्छ । सरोकारवाला सबैलाई बेलैमा चेतना भया ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै