• २०८१ बैशाख १७ सोमबार

एन्फाद्वारा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण र उपमेयर कप स्थगित

kharibot

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण र उपमेयर कप महिला लिग फुटबल प्रतियोगिता स्थगन गरेको छ ।  

विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन राष्ट्रिय फुटबल टोलीको तयारी र उपमेयर कप स्थगन गरिएको एन्फाले जनाएको हो । 

फिफा विश्वकप तथा एशियन कप छनोटअन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलियासँगको खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगन गरिएको हो ।

घरेलु मैदानमा नेपालले आगामी चैत १३ गते चाइनिज ताइपेई र चैत १८ गते अष्ट्रेलियासँग खेल्ने तय भएको थियो । त्यसैको तयारीस्वरूप २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा मैदानमा तयारी गरिरहेको थियो । कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एशिया छनोटमा नेपाल समूह बीमा रहेको छ । पाँच खेल खेलको नेपाल १ जितसहित ३ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ ।

त्यसैगरी उपमेयर कप महिला लिग फुटबल तोकिएको मितिभन्दा ढिला हुने एन्फाले जनाएको छ । एन्फाले लिगको पहिलो चरणको खेल धरान रङ्गशालामा आगामी चैत ३ गतेदेखि शुरु हुने जनाएको थियो । त्यस्तै एन्फाले जिल्लामा जारी सम्पूर्ण फुटबल गतिविधिसमेत स्थगन गरिएको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै